म मान्छे भएको छु
मान्छेको मन चिन्न नसके नि धनले किन्न जानिसकें ।
सोझालाई जालझेलमा पारी
मज्जाले लुट्न जानिसकें ।
मुखले रामको नाम जपी
बगलीमा छुरा बोक्न जानिसकें ।
बल्ल आज म मान्छे भएको छु ।
लाज पचाएर राजनीति गर्न जानिसकें ।
अख्तियारको आँखा छलेर
कमिशनले टन्न ढुकुटी भर्न जानिसकें ।
दुई चार जना विचौलिया पालेर
न्यायलाई किनबेच गर्न जानिसकें ।
बल्ल आज म मान्छे भएको छु ।
सुटुक्क अरुको गाँस खोस्न जानिसकें ।
फिरौटी, चन्दा असुलेर
आफ्नो लाज ढाक्न जानिसकें ।
आफ्नो हितको लागि
अरुको सामु लुरुक्क पर्दै झुक्न जानिसकें ।
बल्ल आज म मान्छे भएको छु ।
आफ्नै माटो बेचेर दलाली दस्तूर असुल्न जानिसकें ।
हाकिम सा’बलाई रिझाएर
सरकारी ठेक्का हात पार्न जानिसकें ।
बाटो भास्सिए नि, पुल भाँचिए नि
आपूmलाई कुशल ठेकेदार मानिसकें ।
बल्ल आज म मान्छे भएको छु ।
शैक्षिक प्रमाणपत्र किनेर विव्दान भइसकें ।
सबैतिर ज्यू, हजूर गर्दै
चाकरी बजाउन जानिसकें ।
अरुको अधिकार खोसेर
आफन्तजनलाई पोस्न जानिसकें ।
बल्ल आज म मान्छे भएको छु ।
अरुको जयकार गरी बोल्न पनि जानिसकें ।
नीति, नियमलाई बङ्ग्याएर
लेख्न खप्पिस भइसकें ।
घरमा जेठीलाई फकाएर
भट्टीमा कान्छीसंग रमाउन जानिसकें ।
बल्ल आज म मान्छे भएको छु ।
सबको नजरमा योग्य भएको छु ।
नोट ः गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको बृहत राष्ट्रिय हास्यव्यङ्ग विशेष कविता प्रतियोगितामा वाचनको लागि प्रस्तुत कविता छनौट भएको थियो ।
राजाराम श्रेष्ठ

Comments
Post a Comment