पशु बलि परम्परा र प्रचलित कानूनी मान्यता
विषय प्रवेश
नेपाल हिन्दू धर्माबलम्वीहरुको बाहुल्यता रहेको देश हो । देशमा बस्ने सबै हिन्दू धर्म मान्ने मानिसहरुले विभिन्न देवदेवीको मन्दिरमा पूजा गर्ने, विभिन्न शक्तिपीठहरुमा पशुपंक्षी बलि दिने गरेका छन् । आदिवासी समुदायमा कुलदेवीको पूजामा पनि पशु बलि दिने प्रचलन रहेको छ । नेपाली समाजमा दशैंमा देवी मन्दिर लगायत पूजाघरमा अधिक पशु बलि दिई मान्ने प्रचलन रहेको छ । त्यसैले जब जब दशैं शुरु हुन्छ, तब तब देशमा पशु बलिको कुरा उठ्न थाल्छ । दशैं नजिकिदै गर्दा बलिको विषयमा आवाज उठ्न थाल्छन्, विरोध प्रदर्शनका कार्यक्रम पनि शुरु हुन थाल्छन् । बलिको विषयमा लेख लेख्ने, समाचार छाप्नेहरु पनि सक्रिय हुन थाल्छन् । त्यतिबेला कानून निर्माताहरुलाई बलि आवश्यक हो कि होइन भन्दै सोच्न बाध्य हुन्छन् । कतिपय अहिंसावादीले पशु बलि जस्तो क्रुर कार्य रोकिनु पर्छ, यो हिंसाको प्रतिक हो भन्दै आवाज उठाउने गरेका छन् । त्यस्तै कतिपय धर्मशास्त्र प्रति आस्थावान व्यक्तिले यो शास्त्रीय मान्यता रहेकोले रोकिन नसक्ने भन्दै आएका छन् । जसले जे जस्तो तर्क गरेता पनि विभिन्न वहानामा हुने पशु बलि रोकिएको छैन ।
बलिको अर्थ
‘बलि’ संस्कृत शब्द हो । यसको अर्थ चढाउनु वा बलिदान गर्नु भन्ने हुन्छ । त्यसैले पशु बलि भनेको पशुपंक्षीलाई पशु योनीबाट मुक्ति दिन देवीलाई अर्पण गर्नु वा बलि दिनु भनी बुझ्न सकिन्छ । बलि सात्विक, तामसी र राजसी गरी तीन प्रकारको हुन्छ । फूल, अक्षता, केसरी, फलफूल आदि काटेर गरिने बलि सात्विक हो भने फूल, अक्षता, केसरीको अलावा पशुलाई काटेर रगत पनि मिसाएर चढाउने बलि राजसी हो । तामसी बलिमा सात्विक र राजसी बलिका साथै रक्सी पनि चढाइन्छ । धार्मिक विधि विधान पुर्याएर सामान्य तथा राजकीय तरिकाले पशु बलि दिने गरिन्छ । कामको प्रतिक बोको, क्रोधको प्रतिक राँगो, लोभको प्रतिक भेडो र मदको प्रतिक कुखुरो, हाँसलाई प्रतिनिधिको रुपमा मानी मानिसमा रहेको कामुकता, क्रोधीपन, लोभीपन, अहंकारको अन्त्यको लागि पशु बलि दिई पूजा गरिन्छ ।
हिन्दू धर्ममा बलिको प्रक्रियामा खास गरी झट्का वा मार हान्ने विधि प्रयोग हुन्छ, जसमा एकैपटक खुकुरी वा तरवारले घाटी छिनाउनु पर्छ, जस्तो कि मुस्लिम समुदायले घाटी रेटेर बलि दिन्छन् । जसलाई हलाल वा जबिया भनिन्छ । ईस्लाम धर्म मान्नेहरुको मुख्य चाड ईद अल अधामा दुष्ट आत्माबाट आफ्ना सन्तानको रक्षाको लागि पशु बलि दिने गरेको पाइन्छ ।
पशु बलि परम्पराको विकास
पशु बलि दिने प्रचलन प्राचीनकालमा सर्वप्रथम भारतबाट शुरु हुँदै विभिन्न देशमा फैलिएको देखिन्छ । अहिलेको अवस्थामा पनि भारतको दक्षिण पूर्वीय राज्यमा पशु बलि दिने प्रचलनले निरन्तरता पाउँदै आएको छ । नेपालमा पनि पशु बलि दिने कार्य रोकिएको छैन । यसका अलावा बंगलादेश, श्रीलंका, चीन, भुटान, थाइल्याण्ड, इन्डोनेसिया जस्ता देशमा पशु बलि परम्पराको रुपमा रहँदै आएको छ ।
आसामको कामाख्या मन्दिरमा पशु बलि दिने प्रचलन रहेको छ । भारतको पश्चिम बंगाल, उडिसा, आसाममा नवरात्रीको अवसरमा दुर्गा पूजा हुँदा पशु बलि दिने गरिन्छ । राजस्थानमा पनि नवरात्रीमा आफ्नो कुलदेवीको नाममा बोका बलि दिने प्रचलन रहेको छ । दक्षिण भारतको कर्णाटका, आन्ध्र प्रदेश, तामिलनाडू, महाराष्ट्रमा पनि विभिन्न पूजा, पर्वको अवसरमा राँगो र बोका बलि दिने प्रचलन कायम रहेको छ । पुणेमा पनि बोका र घोडाको बच्चा बलि दिने प्रचलन कायमै रहेको छ । इण्डोनेसियाको टापुमा पनि हिन्दूहरुले पशु बलि दिने गरेको पाइन्छ ।
पशु बलिको धार्मिक मान्यता
धर्मशास्त्रविद् एवम् नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले पशुको मुक्तिका लागि विधिपूर्वक बलि दिनु शास्त्रीय रहेको र पशु बलि दिनु हाम्रो शास्त्रमै उल्लेख गरेको छ, यसको विरोध गर्नु भनेको धर्मशास्त्रको विरोध गर्नु हो, देवीलाई शक्ति प्रदान गर्नको लागि बलि दिइने हो भनेका छन् । शास्त्रमा ब्राम्हणका लागि भने पशु बलि बर्जित गरिएको छ । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशु बलिको महत्व रहँदै आएको छ । दुर्गा सप्तशती चण्डीको आठौं अध्यायमा पनि यस सम्बन्धी चर्चा भएकाले पशु बलिलाई अशास्त्रीय भन्न नमिल्ने उनको भनाइ रहेको छ । पशुको योनीबाट मुक्तिका लागि शास्त्र अनुसार विभिन्न पर्व, उत्सव तथा धार्मिक यज्ञ, अनुष्ठानमा पशुपंक्षीलाई बलि दिने शास्त्रीय मान्यता रहिआएको छ ।
हिन्दू धर्मका अनुयायीहरुले बलिलाई परम्पराको रुपमा अनुशरण गर्दै आइरहेका छन् । पशु बलिको परम्पराले शक्ति पूजालाई महत्व दिने गरेको छ । हिन्दू धर्मको मूल ग्रन्थ भावगत गीता र अन्य थुप्रै पुराणमा पशु बलि निषेध गरिएको छ । तर कालिका पुराणमा बलिको बारेमा उल्लेख गरिएको पाइन्छ । कालिका पुराणमा बोकाको रगत देवीलाई अर्पण गर्ने ‘बलि’ र हात्तीको रगत अर्पण गर्ने कार्यलाई ‘महाबलि’ भनिएको छ । यजुर्वेदमा पनि पशु बलिका विधि विधान तथा मन्त्रहरुको व्याख्या गरेको पाइन्छ, जसमा सेतो बाख्रा वायुलाई, बाच्छो सरस्वतीलाई, गोरु ईन्द्रलाई, नपुंसक बनाइएको गोरु बरुणलाई अर्पण गरेको कथाहरु छन् । कुलदेवी, भगवती, दुर्गा, काली जस्ता विभिन्न नामबाट हुने धार्मिक अनुष्ठान वा यज्ञ, पूजापाठमा शक्तिको आराधना स्वरुप पशुपंक्षी बलि दिने प्रचलन पौराणिक कालदेखि रहँदै आएको छ । त्रेता युगमा अयोध्याका राजा रामले र व्दापर युगमा युधिष्ठिरले युद्ध जितेपछि आफू चक्रवर्ति राजा हुनको लागि अश्वमेघ यज्ञ गरेका थिए । यज्ञको नामबाट अश्व छोड्नु पनि एकप्रकारको बलिको स्वरुप नै हो । यज्ञमा बोका, मुसा, कुखुराको भाले, सुँगुर र परेवालाई पञ्चबलिको रुपमा दिने गरिन्छ ।
विशेष गरी हिन्दूहरुको महान चाड दशैंको नवरात्रीमा सुख, समृद्धिका लागि देवीको उपासना गर्दै मानिसको घरघरमा पशुपंक्षी बलि दिने गरेका छन् । यान्त्रिक साधन, औजार, मेशिनको पूजा गर्दा पनि बलि दिने गरेका छन् । देशको विभिन्न ठाउँमा अवस्थित देवी मन्दिरहरुमा थुप्रै पशुको बलि दिने गरेको सबैलाई थाहै छ । गोरखाको मनकामना मन्दिरमा वर्ष भरिका बाह्र वटा पूर्णिमामा देवीलाई एकएक वटा बोकाको बलि दिने परम्परा छ । त्यो बलि मनकामना देवीको मन्दिरमै दिइन्छ भने अन्य बलि चाँहि मन्दिरको नजिकैको अष्टमातृकाको थान अगाडि दिने चलन छ । ताप्लेजुङको पाथिभरा देवीको मन्दिरमा पनि बलि चढाउने गरिन्छ । मन्दिरमा धेरैजसो भेडाको बलि चढाउने गरिन्छ । अर्घाखाँचीको मालिका देवी मन्दिरमा दशैंको समयमा पञ्चबलि दिने चलन छ । तनहुँको छाब्दी बाराही देवीलाई बलि चढाएमा मनले चिताएको पुग्ने विश्वास गरिन्छ । बलि दिंदा बोका, पाठा र परेवा बाराही मन्दिर भित्र बलि दिइन्छ भने राँगा, कुखुरा र हाँसको बलि मन्दिर बाहिर दिइन्छ । औंसी, एकादशी र श्रावण महिनाभरि बलि दिने गरिंदैन । ललितपुर, खोकनाको रुद्रायणी मन्दिरमा सुँगुर, बंगुर र कुखुराको बलि दिन निषेध छ भने राँगो, हाँस, बोकाको बलि चढाइन्छ ।
कैलालीको घोडाघोडी मन्दिरमा लवाङ्गी पूजाको अवसरमा कुखुरा, बोका, बंगुरको बलि दिने प्रचलन रहेको छ । बलि नदिए ठूलो मानवीय क्षति हुने, संकट आइपर्ने तथा मानिसको बलि समेत देवीले खाने हुनाले बलि दिनु पर्ने प्रचलन अझै कायम रहेको छ ।. थारु समुदायले घोडाघोडी मन्दिरलाई कुलदेवताको रुपमा मान्दै आएका छन् । वर्षभरि खेती र जीवन रक्षाको लागि थारु समुदायले आफ्नो रितिरिवाज अनुसार पूजा तथा बलि चढाउने गरेका छन् । बाग्लुङ जिल्लाको ढोरबराह मन्दिरमा जनैपूर्णिमाको दिनमा भेडाको पाठोको बलि दिने गरिन्छ । सिराहा जिल्लाको राजदेवी मन्दिरमा पनि पशु बलि दिइन्छ । यो मन्दिरमा प्रत्येक वर्ष बुद्ध जयन्तीकै दिन बोका, कुखुरा, हाँस, परेवा सहित हजारौं पक्षुपंक्षीहरुको बलि दिएर पूजा गरिन्छ । राजदेवी माताले पूर्णिमाको दिनमा आफ्नो मन्दिरमा बलि चढाए फलिफाप हुने सपना भएपछि पशु बलि प्रथाको शुरुवात भएको इतिहास छ । बारा जिल्लामा रहेको गढीमाई मन्दिरलाई अधिक पशु बलि दिने मन्दिरको रुपमा चिनिने गरेको छ । यस मन्दिरमा प्रत्येक पाँच वर्षमा लाग्ने मेलामा बोका, राँगा, हाँस, कुखुरा र मुसा गरी पाँच जातको पशुलाई पञ्चबलिको रुपमा दिने गरिन्छ । मेलामा करोडौंको संख्यामा भक्तजनहरु आउने र लाखौंको संख्यामा पशुहरु बलि दिने गरिन्छ ।
बैतडीको निङलाशैनी भगवतीमा राँगा र बोका बलि दिने प्रचलन रहेको छ । निङलाशैनी मन्दिरमा दशैंको अष्टमीमा ठूलो जात्रा हुने गरेको छ । यो पर्वमा कम्तीमा ६८ राँगा, बोका बलि दिनै पर्ने चलन रहेको छ । पाल्पाको रणउज्येश्वरी भगवतीको जात्रा हुँदा पशु बलि दिने गरेको इतिहास छ । तानसेनको भगवती टोल स्थित भगवती मन्दिरबाट बाजागाजाका साथ रथ यात्रा शुरु हुन्छ । नेपाली सेनाले पञ्चबलि दिई विषेश पूजा अर्चना गर्छन् । पाल्पाका तत्कालिन कर्णेल उजीर सिंहले भाकल पूरा भई विजय प्राप्त गरेको अवसरमा वि.सं. १८७२ सालमा तीन तले भगवती मन्दिर निर्माण गरी बलि पूजा सहित जात्रा चलाएको देखिन्छ । चापागाउँको बज्रबाराहीको जात्रामा पनि देवीलाई कालो बोका बलि दिई सरकारी पूजा गर्ने प्रचलन अझै कायम छ । गाउँ, बस्तीमा सञ्चालन हुने विभिन्न देवदेवीको जात्रामा पशु बलि सहितको पूजा अर्चना हुने गरेका छन् ।
काठमाण्डौं उपत्यकाको दक्षिणकाली, गुहेश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, भद्रकाली, जयबागेश्वरी, रक्तकाली, बज्रबाराही, बज्रयोगिनी, संकटा लगायतका विभिन्न मन्दिर तथा शक्तिपीठमा पूजा आराधनाका साथ पशु बलि दिने गरेका छन् । काठमाण्डौं बाहिर दोलखाको भिमेश्वर, नुवाकोटको भैरबीमाई, साँगाको नासिका महाकाली, संखुवासभाको सिद्धकाली, तेह्रथुमको सिंहबाहिनी, डोटीको शैलेश्वरी देवी, अर्घाखाँचीको मालिका देवी, सुनसरीको दन्तकाली मन्दिरमा पनि पशु बलि दिने गरेका छन् । त्यसैगरी संखुवासभाको सिद्धकाली, डोल्पाको बालात्रिपुरासुन्दरी, काभ्रेको पलाञ्चोकभगवती, स्याङजाको सतौं चण्डिकालिका, बाग्लुङको कालिका भगवती, डडेल्धुराको उग्रतारा, दार्चुलाको लटिनाथ, पाटनको उदयदेव मन्दिर, बाजुराको बडिमालिका, बाराको गढिमाई लगायतका विभिन्न मन्दिरहरुमा पनि दशैं तथा अन्य चाडपर्वमा पशु बलि दिने गरेका छन् । विभिन्न उत्सवमा यस्ता मन्दिर तथा शक्तिपीठमा भक्तजनहरुले राँगा, बोका, हाँस, कुखुरा, भेडा, परेवा आदि पशुपंक्षी बलि दिने गरेका छन् ।
नेपाल सरकारले दशैंमा हुने पशु बलि तथा वर्षभरिको पूजाको लागि अहिले पनि करोडौंको रकम छुट्याउँदै आएको छ । सरकारी रकम खर्च गरेर बलि दिने कार्य हुँदै आएका छन् । सरकारी निकायबाट रकम अनुदान प्राप्त गरी गुठीको माध्यमबाट पनि दशैं जस्तो कतिपय चाडपर्वको अवसरमा पशु बलि दिने गरेको पाइन्छ । देशको कैयन देवी मन्दिरहरुका अलावा कोतघरमा समेत पशु बलि दिने कार्यले निरन्तरता पाइरहेको छ । नेपाली समाजमा पशु बलि दिने कार्य अहिलेको अवस्थामा साँस्कृतिक मान्यता र परम्पराको विषय बनिसकेको छ ।
दशैंको समयमा सबै भन्दा बढी काठमाण्डौंको हनुमानढोका दरबारको दशैं घरमा पशुहरुलाई बलि दिने गरेको पाइएको छ । राणा शासनकालमा प्रधानमन्त्री जंग बहादुर राणाले वि.सं. १९०३ मा कोतपर्वको लगतै दशैं घर र मूलचोकमा बलि दिने परम्पराको थालनी गरेका थिए । तलेजुमा ४३ वटा बोका, ११ वटा राँगा र केही हाँस बलि दिने प्रचलन रहेको र दशैंघरमा दश दिनसम्म बोका र राँगाको बलि दिने चलन रहेको छ । बलि दशैंको महाअष्टमी, महानवमी र चर्तुदशीको दिनमा मूलचोकमा दिने परम्पराको थालनी गरेका थिए । जंग बहादुरले कोतपर्व भएको दुई वर्ष पछि देवीलाई खुशी पार्न बलि दिन थालेको किम्वदन्ती रहेको छ । यसैका आधारमा दशैंको अष्टमीको दिनमा ५४ राँगा, ५४ बोका तथा नवमीको दिनमा पनि ५४ राँगा, ५४ बोका बलि दिंदै आएको छ । यतिकै संख्यामा चतुर्दशीको दिनमा पनि राँगा र बोका बलि दिने दिंदै आएको छ । चैते दशैंको अष्टमीको दिनमा पनि ५४ राँगा र ५४ बोका बलि दिने प्रचलन छ । यसरी बलि दिने बोका, राँगा तथा पूजा सामाग्रीको खरिद, पूजा व्यवस्थापन जस्ता कार्य निवृत्तभरण व्यवस्थापन कार्यालयले गरिंदै आएको छ ।
गोरखा दरबारमा महाअष्टमी र महानवमीको दिन बलि दिने प्रचलन रहेको छ । ३२ वटा बोका, सतार सहित १५ वटा राँगा, १२ वटा भेडा, १३ वटा कुखुरा र भैरबलाई ५ वटा सुंगुरको बलि गतवर्ष (२०७६ सालको दशैं) चढाइएको थियो । यसरी बलि दिने कार्य एकादशीको दिन बाहेक सबै दिनमा दिने गरिन्छ । यसरी अत्यावश्यक बलि दिने कार्यमा दरबार हेरचाह अड्डा रहेको छ । भक्तपुरको तलेजु पूजाको लागि पनि गुठी संस्थानले दशैं भरिको लागि ६० वटा बोका, ३१ वटा राँगा र ३० वटा हाँस दिने प्रचलन कायमै छ । दशैंको समयमा देशका विभिन्न नवदुर्गा मन्दिरमा पनि राँगा, बोकाको बलि दिने गरिन्छ । लमजुङ स्थित कालिका मन्दिरमा दशैंका बेला सरकारका तर्फबाट बलि चढाउने परम्परा छ । गुठी संस्थानले जिल्ला मालपोत कार्यालय मार्फत् प्रत्येक वर्ष २७ वटा बोका, एउटा भेडा, ६ वटा राँगा, एउटा सुंगुर र एउटा कुभिण्डो बलि दिने प्रचलन छ ।
पशु बलि दिने चलन शक्तिवादमा आधारित रहेको छ । मानिसहरुले आफू शक्तिमा रहिरहन वा आफ्नो भाकल, मनोकांक्षा पूरा गर्न शक्तिपीठमा गई पशुपंक्षी बलि दिने गरिन्छ । हिन्दू धर्मप्रति आस्थावान सबैले विभिन्न मेला, जात्रा, पर्वको अवरसमा देवी मन्दिरहरुमा गई पशु बलि दिदै आएका छन् । हिन्दूहरुको महान चाड दशैंको अवसरमा देशको विभिन्ने देवी मन्दिर एवम् शक्तिपीठमा पशु बलि दिने गरिन्छ । विभिन्न जातिय समुदायमा देवाली, कूलदेवीको पूजा, देवीको जात्रा, दशैंको नवरात्रीमा सुख, समृद्धि तथा स्वास्थ्य रक्षाको लागि देवीको उपासना गर्दै मन्दिर तथा मानिसको घरघरमा पशुपंक्षी बलि दिंदै आएका छन् । धर्म प्रतिको आस्था एवम् विश्वासका कारण देशमा पशु बलिले निरन्तरता पाउँदै गएको हो । यसरी हेर्दा समाजमा पशु बलि तुरुन्तै रोकिने अवस्थाको देखिंदैन ।
पशु बलिको कानूनी पक्ष
पशु बलिको विषयलाई लिएर समय समयमा आवाज उठ्दै आइरहेका छन् । पशु अधिकारवादी एवम् पशु कल्याणको लागि काम गर्ने विभिन्न संघ, संस्था समेत पशु बलिको अन्त्य हुनु पर्ने भन्दै विरोध जुलुश निकाल्ने गरेका छन् । विरोधको कारण समाजमा पशु बलिमा कमी आएको छ त ? अहिले पनि समाजमा पशु बलि आवश्यक छ भन्ने एकथरी पक्ष छन् भने अर्को थरीले पशु बलिलाई स्वीकार गर्दैनन् । समाजमा पशु बलि धार्मिक एवम् साँस्कृतिक परम्पराको उपजको रुपमा विकसित हुँदै आएका छन् । हिन्दू धर्मशास्त्रले यसलाई जीवन्त बनाउँदै ल्याएका छन् । विधायिकाले पनि यसलाई धार्मिक मूल्य, मान्यतासंग जोडेर कानून निर्माण गरिंदै लगेका छन् ।
नेपालको संविधानले धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुने र प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिक स्थल तथा धार्मिक गुठी सञ्चालन र संरक्षण गर्ने हक हुने गरी संविधानले मौलिक हक प्रदान गरेको छ । संविधानले मौलिक हकमा उल्लेख गरे झैं सबैले आफ्नो कूल परम्परादेखि चल्दै आएको धर्म, धार्मिक परम्परालाई मान्न पाउँछन् । परम्परादेखि चल्दै आएको देवदेवीको जात्रा, पर्व, पूजापाठ शास्त्रमा उल्लेखित विधि विधान अनुसार निर्विवाद रुपमा चलाउन पाउँछन् । यही धार्मिक मूल्य, मान्यता भित्र पशुपंक्षी बलिको विषय पनि लुकेको छ । अघिदेखि चली आएको देवताको पूजामा गाई बाहेक अरु स्त्री जाति चौपाया बलि दिई मार्न हुने, लेखिएका अवस्थामा वाहेक कुनै स्त्री जाति चौपाया कसैले मार्न नहुने गरी कानून निर्माण भएको थियो । कुनै पनि सार्वजनिक स्थानमा पशु वा पंक्षीलाई मार्न, कुट्न, पिट्न हुँदैन । साविकको मुलुकी ऐनमा पनि गाई, गोरु मार्न नहुने गरी कानूनी व्यवस्था गरेको थियो । त्यस्तो कार्यलाई कानूनले दण्डनीय बनाएको थियो । हाल जारी भएको अपराध संहिताले पनि गाई, गोरु मार्न वा कुट्न नहुने गरी कानूनी व्यवस्था गरिएको छ ।
मानिस बाहेकका अन्य पशुपंक्षीहरुले पनि कठोर पीडा, अनावश्यक त्रास, बर्बर यातनाबाट मुक्त भई बाँच्न पाउनु पर्छ भन्ने विषय नै पशु अधिकार सम्बन्धी विधिशास्त्रीय मान्यता हो । भारतमा पनि विभिन्न वहानामा पशु प्रति क्रुर, निर्दयी व्यवहार गर्न नहुने गरी पशु प्रति क्रुरता निवारण अधिनियम, १९६० मा कानूनी व्यवस्था गरिएको छ । यसले कुनै सम्प्रदायको धर्मव्दारा निर्धारित परम्पराको नाममा गरिने पशुवधलाई अपराध मानेको छैन । अमेरिकाले जारी गरेको पशु कल्याण ऐन, १९६६ मा पशुको कल्याणकारी व्यवस्थापन सम्बन्धमा व्यवस्था गरिएको छ । जापानले जारी गरेको पशुको कल्याण तथा व्यवस्थापन ऐन, १९७३ ले गाई, घोडा, भेडा, बाख्रा, कुकुर लगायतका घर पालुवा जनावर र चराहरु उपर पीडा पुर्याउन नहुने व्यवस्था गरेको छ । स्वीजरलैण्डले पशुको कल्याण र मर्यादाको संरक्षण गर्ने उद्देश्यले पशु कल्याण ऐन, २००५ जारी गरेको छ । बेलायतले पनि सन् २००६ मा पशु अधिकारको संरक्षणको लागि यस्तै कानून जारी गरेको छ । भारत, अमेरिका, बेलायत, जापान, स्वीजरलैण्ड, अष्ट्रिया, केन्या जस्ता देशले पशुहरु प्रति हुने क्रुर व्यवहारलाई नियन्त्रण गर्ने र त्यस्तो कार्र्य गर्नेलाई सजायँ गर्ने गरी पशु कल्याण सम्बन्धमा कानून समेत जारी गरेको छ । नेपालले पनि मुलुकी अपराध संहिता, २०७४, पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५, पशु कल्याण निर्देशिका, २०७३, पशु वधशाला र मासु जाँच ऐन, २०५५ जस्ता कानून जारी गरिसकेको छ । यस्ता कानूनले पशुपंक्षीको कल्याणकारी व्यवस्थापन हुनु पर्ने र तिनीहरु प्रति क्रुरता प्रदर्शन गर्न नहुने विषयमा जोड दिएको छ ।
मासुको उपभोगबाट मानिसको स्वास्थ्य रक्षा गर्ने उद्देश्यले पशु वधशाला र मासु जाँच ऐन, २०५५ कार्यान्वयनमा ल्याइएको छ । यस ऐनमा गाई, गोरु, साँढे बाहेक भाले जातको खसी तुल्याइएको वा नतुल्याइएको बोका, भेडा, च्यांग्रा, सुँगुर, बंगुर, बँदेल, राँगो, खरायो वा मासुको लागि योग्य देखिएको भैंसी, बाख्रा, पोथी जातको भेडा, च्यांग्रा, सुँगुर, बंगुर, बँदेल, खरायो र सो शब्दले भाले वा पोथी जातको कुखुरा, हाँस, परेवा वा मासुको प्रयोजनको लागि पालिएको अन्य पशुपंक्षी भनी पशुको परिभाषा गरिएको छ । ऐनमा यस्ता पशु वध गर्नु अघि जँचाउनु पर्ने र वध गर्न उपयुक्त देखिएको पशुलाई पशु वधशालामा वध गर्नु पर्ने गरी कानूनी व्यवस्था गरिएको छ । पशुपंक्षी वध गर्दा उपयुक्त प्रविधिको प्रयोग गरी कम पीडा दिई गरिनु पर्ने गरी सर्वोच्च अदालतबाट व्याख्या भएको छ । परम्परादेखि चलि आएको चाडपर्व, धार्मिक पूजाआजा, कुनै भोज भतेर वा धार्मिक उत्सव जस्ता कार्यको सिलसिलामा पशु वधशाला बाहेकका स्थानमा पशु वध गर्न बाधा पुर्याएको नमानिने गरी ऐनमा उल्लेख गरेको छ । पशु वधशाला र मासु जाँच ऐनले वधशालामा मात्र पशु वध गर्नु पर्ने अनिवार्य कानूनी व्यवस्था गरे तापनि परम्परादेखि चलि आएको चाडपर्व, धार्मिक पूजाआजा, धार्मिक उत्सव जस्ता कार्यमा पशु वध गर्दा वधशालामै गर्नु पर्ने गरी अनिवार्य गरेको छैन ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९ अनुसार परम्परादेखि चलिआएको धार्मिक पूजाआजा चलाउनु पर्ने अवस्थामा पशु बध गर्न मिल्छ । सो अवस्था बाहेक बुद्ध जयन्ती, कृष्णजन्माष्टमी, महाशिवरात्री, रामनवमी वा एकादशीको पर्वको दिन वा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी पशुपंक्षी बध गर्न मनाही गरेको दिनमा धार्मिक स्थलमा कसैले पनि पशुपंक्षीको बध गर्न हुँदैन । त्यसो गरेमा प्रमुख जिल्ला अधिकारीले पाँचसय रुपैयाँसम्म जरिवाना गर्न सक्छ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २७ मा पशु बलि सम्बन्धि कानूनी व्यवस्था गरेको छ । यस ऐनमा अन्यथा व्यवस्था भएकोमा बाहेक कसैले पनि कुनै पशु वा पंक्षीलाई परम्परादेखि बलि दिंदै आएको धार्मिक स्थल बाहेक अन्य कुनै पनि सार्वजनिक स्थलमा मार्नु हुँदैन । तर परम्परादेखि नै पशु वा पंक्षीको बध गर्न चली आएको मेला, जात्रा, हाट वा महोत्सव वा स्थानमा पशु वा पंक्षी मार्न बाधा पर्ने छैन । उपदफा (१) बमोजिम बलि दिनु पर्दा परम्परादेखि बलि दिंदै आएको धार्मिक स्थल बाहेक अन्य सार्वजनिक वा धार्मिक स्थलमा पशु वा पंक्षीको बलि दिन सकिने छैन । उपदफा (१) बमोजिम पशु वा पंक्षीको बलि दिनु पर्दा पशु वा पंक्षीको बलिको विकलपमा हुन सक्ने अन्य उपाय भएमा त्यस्तो उपाय अवलम्बन गर्नु पर्नेछ । उपदफा (३) बमोजिमको उपाय अपनाउन सम्भव नभई पशु वा पंक्षीको बलि दिनु परेमा त्यस प्रयोजनका लागि सम्बन्धित धार्मिक स्थलका व्यवस्थापकले निर्धारण गरेको ठाउँमा र निर्धारण गरेको विधि बमोजिम बलि दिने काम गर्नु पर्नेछ । यस दफा बमोजिम कसूर गर्ने वा गराउने व्यक्तिलाई एक महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुनेछ ।
समाज परिवर्तनशील छ । हरेक सामाजिक मूल्य, मान्यता, विभिन्न साँस्कृतिक परम्परा समयसंगै रुपान्तरण हुनु जरुरी छ । समाजमा विद्यमान धर्म, प्रथा, परम्परा, रीति तथा संस्कारका नाममा हुने सबै प्रकारका विभेद, असमानता, शोषण र अन्यायको अन्त्य गर्ने नीति राज्यको हो । राज्यव्दारा आफ्नो नीतिगत व्यवस्था अन्तर्गत् बनाइएको कानूनले समाजको परम्परा, रीतिरिवाज, संस्कृति र व्यवहारलाई पनि ध्यान राख्ने हुँदा राज्यले समाजका कस्ता प्रकारका परम्परा, रीतिरिवाज, संस्कृति र व्यवहारलाई कानूनी व्यवस्था मार्फत् मान्यता दिने र कस्तोलाई नदिने भन्ने कुरा राज्यको नीतिगत विषय भित्र पर्ने भन्दै श्री सर्वोच्च अदालतले व्याख्या गरेको छ । त्यसैले धार्मिक परम्पराको रुपमा मान्यता पाउँदै आएको पशु बलिको कार्यलाई निषेध गर्ने या नगर्ने भन्ने विषयलाई राज्यले नीतिगत रुपमा निर्णय गर्न सक्ने देखिन्छ । यसरी निर्णय गर्दा धार्मिक मूल्य, मान्यता तथा साँस्कृतिक एकतामा पनि असर पुग्न जाने तर्फ पनि विधि निर्माणकर्ताको ध्यान जानु पर्छ । पशु बलि पनि धर्म र संस्कृति संग जोडिएको विषय भएको हुनाले यसलाई राज्यले चाहेर पनि तुरुन्तै निषेध गर्न सक्ने देखिंदैन । त्यसैले पनि पशुपंक्षीलाई परम्परादेखि बलि दिंदै आएको धार्मिक स्थलमा बलि दिन हुने, अन्यथा नहुने गरी मुलुकी अपराध संहिता, २०७४ को पशुपंक्षी सम्बन्धी कसूर अन्तर्गत् पशु बलि सम्बन्धमा कानून व्यवस्था गरेको देखिन्छ । कानून विपरित पशु बलि दिनेलाई कैद तथा जरिवाना समेत हुने गरी सजायँको व्यवस्था गरिएको छ ।
बारा जिल्लाको गढिमाई मन्दिर अधिक पशु बलि दिने मन्दिरको रुपमा विश्वमै चिनिन्छ । हरेक पाँच वर्षमा हुने गढिमाई मेलामा हुने पशु बलिलाई रोक्नको लागि नेपालको सर्वोच्च अदालतमा मुद्दा नै परेको थियो । परम्परादेखि चलि आएको चाडपर्व, पूजाआजा वा उत्सवमा गरिने पशु बधलाई पशुवधशाला र मासु जाँच ऐन, २०५५ ले छुट दिन नहुने र सार्वजनिक स्थलमा पशुको वध गरी दुषित मासु प्रयोग गर्न छुट दिने कारणले सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै रिट निवेदन दायर भएको थियो । बलि प्रथा बन्द गरिनु पर्ने गरी २०७३ श्रावण २० गते नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश तथा सो आदेशलाई असर नपर्ने गरी परमादेश समेत जारी गरियो । बलि प्रथा रोक्न वाञ्छनीय देखिएको र यसका लागि प्रचलित सामाजिक एवम् साँस्कृति मान्यताहरुलाई पनि यथोचित रुपमा सम्बोधन गर्न आवश्यक देखिएको हुँदा बलि दिने कार्य रोक्न वा बन्द गर्नका लागि नेपाल सरकार, सम्बद्ध मन्त्रालय तथा कार्यालयको नाममा देहाय बमोजिमको निर्देशनात्मक आदेश जारी गरिएको छ ः
(क) साँस्कृतिक संरचना र सन्दर्भ, मानिसको आस्था, साँस्कृतिक मान्यता आदि विविध पक्षलाई सम्बोधन गरी निश्चित समय सीमा भित्र पशु बलि दिने प्रथा समाप्त गर्न रणनीतिक योजना तथा कार्यक्रम तयार गरी चरणबद्ध रुपमा कार्यान्वयनमा ल्याउनु र पशु बलि प्रथाको अन्त्य गर्ने गरी आवश्यक कानून निर्माण गर्ने प्रवन्ध समेत मिलाउनु ।
(ख) बलि प्रथा रोक्नका लागि व्यापक रुपमा जनचेतना अभिवृद्धि गर्ने, गराउने कार्य सञ्चालन गर्नु तथा निश्चित समय सीमा तोकी बलि प्रथाको अन्त गरिने सूचना र सन्देश प्रचारप्रसार गर्नु गराउनु ।
(ग) बलि दिने कार्य बन्द हुने अवस्थाका सम्मका लागि दिन प्रतिदिन बढ्दै गएको बलि दिने कार्यमा नियन्त्रण कायम गरी क्रमिक रुपमा यसको मात्रा घटाउँदै लैजाने उपाय स्वरुप बलि दिनेबाट संस्थागत रुपमा आकर्षक दस्तूर असुल गर्ने, प्रक्रियागत शर्तहरु निर्धारण गर्ने, बलि दिन पाउने अधिकतम पशु संख्या निर्धारण गर्ने, बलि दिने पशुको अधिकतम र न्यूनतम उमेर निर्धारण गर्ने, अस्वस्थ र विरामी पशुपंक्षीलाई बलि दिन नपाउने, खुला ठाउँमा सार्वजनिक तवरबाट बलि नदिने जस्ता आवश्यक र उपयुक्त शर्तहरु निर्धारण गरी निरोधात्मक उपायहरु अपनाई बलि दिने कुरालाई निरुत्साहित गर्दै लैजानु ।
(घ) पशु अधिकारलाई कानूनी रुपमा परिभाषित गरी पशुपंक्षी उपरका सबै प्रकारका निर्दयी व्यवहारमा नियन्त्रण कायम गर्न वाञ्छनीय भएकाले पशु अधिकारको प्रत्याभूति दिन, पशु कल्याणको प्रबन्ध गर्न र नेपाली समाजमा पशुपंक्षी उपर हुने गरेका सबै प्रकारका क्रुर, बर्बर, निर्दयी वा अमानवीय व्यवहारलाई दण्डनीय घोषित गर्न अन्य मुलुकका प्रचलन समेतको अध्ययन गरी हाम्रो सामाजिक सन्दर्भ अनुकुल कानून निर्माण गर्ने प्रक्रिया अबिलम्व अगाडि बढाउनु । गढीमाई मेलाको क्रममा हुने गरेको वातावरणीय प्रदुषण नियन्त्रण गरी स्वस्थ र स्वच्छ वातावरण कायम राख्न बलि दिएका पशुपंक्षीको मासु लगायतका पदार्थको उचित व्यवस्थापन गर्नु, मासुको गुणस्तर निर्धारण, परीक्षण र नियन्त्रण गर्नु तथा गढीमाई मन्दिर र आसपासका क्षेत्रमा स्वच्छ र स्वस्थ वातावरण कायम गर्न तथा बलि दिइएका पशुको रगत, मासु, छाला लगायत अन्य कारणबाट स्थानीय जनस्वास्थ्यमा प्रतिकूल असर पर्न नदिन आवश्यक प्रबन्ध मिलाउनु । पशु बलि दिने, दिलाउने कार्यमा प्रत्यक्ष वा परोक्ष रुपमा प्रोत्साहन वा सहयोग पुग्ने गरी सरकारको तर्फबाट कुनै कार्य नगरी त्यस्तो कार्यलाई निरुत्साहित गर्नु, गराउनु ।
सर्वोच्च अदालतको यो आदेश पशु बलि सम्बन्धमा क्रान्तिकारी निर्णय नै हो । अदालतले औंल्याइएका यी यस्ता विविध विषयमा सम्पूर्ण रुपमा कानूनी व्यवस्था गर्दै लानेतर्फ नेपाल सरकार र तिनका सरोकारवाला निकायको ध्यान जानु पर्छ । धार्मिक आस्था एवम् विश्वासमा आघात नपुग्ने गरी बलि दिने कार्यलाई निरुत्साहित गर्न समयसापेक्ष उचित नीति तथा कानून निर्माण गर्नु राज्यको दायित्व हो । धार्मिक परम्पराको रुपमा विकसित हुँदै आएको पशु बलि दिने कार्य विस्तारै कम गर्दै लानु पर्ने र यसले मात्र समाजको आधुनिक विकास हुनेतर्फ सर्वोच्च अदालतको आदेश केन्द्रित रहेको छ । अदालतले आदेशमा भने जस्तै पशु बलि सम्बन्धमा कतिपय विषयमा कानून निर्माण भई कार्यान्वयमा आइसकेको छ भने कतिपय विषयमा समयको परिवर्तन संगै आवश्यक कानूनी व्यवस्था हुदै जानेछ ।
निश्कर्ष
नेपाली समाजमा धार्मिक, सामाजिक एवम् साँस्कृतिक परम्पराको रुपमा चल्दै आएको पशु बलि दिने कार्यलाई कानूनले पहिले पनि मान्यता दिएको थियो । अहिलेको मुलुकी अपराध संहिता, २०७४ तथा स्थानीय प्रशासन ऐन, २०२८ ले पनि परम्परालाई जोड दिंदै त्यस्तो धार्मिक स्थलमा पशु बलि दिन हुने गरी कानूनी मान्यता प्रदान गरेको छ । हाल कार्यान्वयनमा रहेको अपराध संहिताको व्यवस्थालाई मान्ने हो भने परम्परादेखि बलि दिंदै आएको धार्मिक स्थल बाहेक अन्य सार्वजनिक वा धार्मिक स्थलमा पशु वा पंक्षी बलि दिन हुँदैन । संहिताले त्यसरी पशुपंक्षीको बलि दिनु पर्दा अन्य उपाय भएमा सो को विकल्प अवलम्बन गर्नु पर्ने र सो उपाय अपनाउन सम्भव नभई बलि नै दिनु पर्ने अवस्था भएमा धार्मिक स्थलको व्यवस्थापकले निर्धारण गरेको ठाउँ वा विधि बमोजिम बलि दिनु पर्ने गरी वाध्यात्मक कानूनी व्यवस्था गरको छ । यसप्रकार संहिताले परम्परालाई विशेष जोड दिई पहिलेदेखि बलि दिंदै आएका मठ मन्दिरमा मात्र बलि दिनु पर्ने र अन्य वैकल्पिक व्यवस्था भएसम्म त्यस्तो मन्दिर भित्र बलि दिन नहुने व्यवस्था गरेको छ । अहिले कतिपय मठ मन्दिर भित्र बलि सीधै स्वीकार नगरी छुट्टै ठाउँमा बलि दिनु पर्ने गरी व्यवस्थित गरेको देख्न सकिन्छ । यसले मन्दिर वरिपरिको वातावरण समेत दुषित हुन पाउँदैन ।
परम्परालाई आत्मसात् गर्ने तर पशुपंक्षी बलि नदिने एकथरि व्यक्तिले मन्दिर भित्र पूजापाठ गर्दा नरिवल बलि दिने गरेका छन् । दशैंको अवसरमा दशैघरमा कुभिण्डो काट्नु पनि एक प्रकारको पशु बलिको विकल्प हो । यसरी कुभिण्डो काटेर दशैंमा खड्ग जात्रा मान्ने परम्परा नेपाली समाजमा रहेको छ । यसरी हेर्दा पशु बलि दिने कार्यलाई कानूनले पूर्ण रुपमा निषेध गरेको छैन । तर विकल्पको प्रयोग गर्न सबैलाई प्रेरित गरेको छ । यदि धार्मिक आस्था एवम् विश्वासलाई जोगाई राख्ने र परम्परालाई मान्दै जाने हो भने समाजमा पशुपंक्षी बलि दिने कार्य पूर्ण रुपमा अन्त्य नहुने निश्चित छ ।
पशु बलि धर्मशास्त्रबाट प्रभावित हुने हुँदा पशु वध गर्ने कार्य संग भिन्नता रहेको छ । तर पशुपंक्षीलाई मार्ने विषयमा भने समान रहेकोले यी दुवै कार्य गर्दा पशुपंक्षीलाई क्रुरतापूर्वक पीडा दिई बलि दिनु वा मार्नु हुँदैन । जे होस्, हिन्दू धर्मशास्त्रले पशु योनीबाट मुक्तिको लागि पशुपंक्षीको बलि आवश्यक रहेको कुरा दर्शाउँछ । यसैलाई आधार मान्दा पनि यो विषय धर्म र सँस्कृतिसंग पनि नजिकैबाट जोडिएको देखिन्छ । त्यसैले यसलाई तुरुन्तै बन्द गर्न सकिने अवस्था छैन । कानून निर्माण गरेर मात्र पनि पशु बलि दिने कार्यलाई पूर्ण रुपमा बन्द गर्न सक्ने अवस्था छैन । यसलाई तत्काल बन्द गर्न खोजेमा सामाजिक सद्भाव खल्बलिन जाने र धार्मिक भावनामा समेत चोट पुग्न जाने देखिन्छ । कुनै धार्मिक उत्सवमा वा आफ्नो भाकल पूरा गर्ने नाममा विभिन्न मन्दिर, जात्रा, चाडपर्वमा बलि दिने कार्यले निरन्तरता पाएका छन् । यसलाई कसैले पनि बाध्यताको रुपमा प्रयोग गर्नु पर्छ भन्ने छैन । मानिसहरुले पशु बलि दिने कार्यलाई विस्तारै कम गर्दै लान वा अन्य विकल्पको प्रयोग गर्दै जान भने अवश्य पनि सकिन्छ । राज्यको ढुकुटीबाट रकम खर्च गरी विभिन्न चाडपर्व, पूजामा हुने पशु बलिको कार्यलाई पनि निरुत्साहित गर्दै लान सक्नु पर्छ । नेपालको प्रचलित कानून तथा सर्वोच्च अदालतले विभिन्न मुद्दामा व्याख्या गरे जस्तै विस्तारै पुराना मान्यतालाई विस्थापित गर्दै लानु पर्छ । संस्कार, परम्परा, प्रथा वा यस्तै नाममा पुराना मान्यताहरुलाई विस्तारै कम गर्दै जाने हो भने देशबाट पशु बलिमा पनि कमी आउँनेछ । यसले मात्र देशको आधुनिक परिवर्तन सम्भव छ ।
नोट ः यो लेख सर्वोच्च अदालत बार जर्नल, वर्ष १७, अंक १७, २०७९ मा प्रकाशित भैसकेको छ । उक्त लेखलाई यहाँ केही संशोधन गरी पुनः प्रकाशन गरिएको छ ।


Comments
Post a Comment