भ्रष्टाचार कम्पनी प्राइभेट लिमिटेड

नेपालमा थुप्रै निजी तथा सार्वजनिक कम्पनीहरू स्थापना भई कार्यरत रहेका छन् । निजी कम्पनीले निश्चित रकम सरकारलाई राजस्व तिरेर नाफा आफै राख्छन् । सार्वजनिक कम्पनी निश्चित रकम सरकारलाई राजस्वको रुपमा तिर्छन् र नाफा घाटा सर्वसाधारण लगानीकर्तालाई पनि बाँड्ने गर्छन् । यस्ता कम्पनीहरू निश्चित कानून भित्र रहेर सञ्चालन हुने गर्छन् । देशमा यस्ता अघोषित कम्पनी पनि छन्, जसको सञ्चालनबाट लाखौं, करोडौं रकम बिना लगानी आफूहरू मात्रै कुम्ल्याउँछन् । देशको ढुकुटीमा चानचुन पैसा पनि जाँदैन । ढुकुटीमा भएको रकम रित्याई देशलाई ऋणमै डुबाउँछन् । ढुकुटीको रकम जसरी हुन्छ, सातपुस्तासम्मको लागि पुग्ने गरी कुम्ल्याउँछन् । त्यो जल्दोबल्दो कम्पनी हो – भ्रष्टाचार कम्पनी ।  देशको ढुकुटीको धनसम्पत्ति मनोमानी ढङ्गले प्रयोग गरी आफैंले आफ्नो लागि वा आफ्ना आफन्त, ईष्टमित्रको लागि मात्र सम्पत्ति जोड्ने, जनताको खल्तीबाट रकम तान्ने हुँदा भ्रष्टाचार कम्पनी प्राइभेट लिमिटेडको नामाकरण गर्दा फरक नपर्ने देखिन्छ । 

आर्थिक कारोबार तथा विकास निर्माणको काम बढी हुने कार्यालय, विभाग, मन्त्रालय, संस्थानमा बढी मात्रामा भ्रष्टाचार कम्पनी फस्ताएको अहिलेको अवस्थाले देखाएको छ । अदालत, अस्पताल, विद्यालय, आयोग, परिषद् जस्ता निकायमा पनि यस्ता कम्पनीले फस्ताउने मौका पाएको हुन्छ । यस्ता कम्पनीमा ओहोदावाला र पहुँचवाला मन्त्री, सभासद् सचिव, उपसचिव, प्रमुख, खरिदार, सुब्बाको साला, भतिजा, भाई, बुहारी, ज्वाईं, छोरा, छोरी जस्ता आफन्त, ईष्टमित्रहरू सरिक हुन पुग्छन् । सडकमा साइकल देखाएर गाडीको इन्धन खाए पनि हुन्छ । जग्गा, गाडी, जहाज खरिद, विक्रीमा करोडौं रकम घोटाला गरी बाँडचुँड गरी लिए पनि हुन्छ । सडक, बाटो नबनाई अलपत्र पारी करोडौं रकम पचाए पनि हुन्छ । शहरमा आफ्नै नाममा घर, बङ्गला बनाई देशको ढुकुटीबाट लाखौंको भाडा लिई पचाए पनि हुन्छ । आफ्नै गाडी भाडामा लिई आफ्नै मान्छेलाई चलाउन दिई भाडा, तलब, इन्धन जो जसको नाममा विल बनाएर खाए पनि हुन्छ । विकास निर्माण आयोजनाको काममा करोडौं रकम कमिशन मागेर खाए पनि हुन्छ । आफूभन्दा माथिल्लो ओहोदामा विराजमान व्यक्तिको आदेश शिरोपर गर्दै हजारौंदेखि अरबौंसम्मको आर्थिक घोटाला, हिनामिना, अनियमितता गरी आफ्नो बैंक खातामा रकम जम्मा गरे पनि हुन्छ । सर्वसाधारणको पैसा लोभ्याई, ठगी खाने अपराधीलाई छुटाउन टेलिफोनबाट मोलमोलाई गरी मनग्य रकम कमाए पनि हुन्छ । कमाउधन्दामा मात्र अग्रसर हुने भ्रष्टाचार कम्पनीका मान्छेहरू देश र जनताप्रति उत्तरदायी हुनु पर्दैन । आफूले कमाएको धन सबैका समक्ष पारदर्शी रुपमा देखाइरहनु पर्दैन । सम्पत्ति शुद्धीकरण विभाग, राजस्व विभाग, अख्तियार दुरुपयोग अनुशन्धान आयोग कसैको डर मान्नु पर्दैन । कुनै कानूनको पालना गर्नु पर्दैन । कानून पालना गर्न बाध्य भए वा कसैले बाध्य बनाए भ्रष्टाचार कम्पनीबाट कमाएको नोटको बित्तो त्यस्ता व्यक्तिको हातमा समाउन लगाई दिए पुगिहाल्यो । ठुलाबडालाई कानून लाग्दैन, सानासानाले कानून जान्दिन भनेर सुख नै पाईंदैन । जनताको खल्ती र देशको ढुकुटीबाट सिधै मोटो रकम कमिशन, उपहारको रुपमा कम्पनीको हिस्सेदार, मतियार, सञ्चालकको घरसम्म आइपुग्ने हुँदा यस्तो कम्पनीमा लाग्नेहरूको फलिफाप भएको देखिएको छ । राजनीतिको नारा घन्काएर सडक, बाटो, मकै बारीमा चप्पल लगाएर हिंड्नेहरूले करोडौंको घर, गाडी, बङ्गलामा बस्ने र लाखौंको मोबाइल, घडी, लुगा, जुत्ता लगाएर हिंड्ने गरेकोबाट पनि यो कुराको सतप्रतिशत पुष्टि हुन्छ । यस्ता कम्पनीमा सरिक हुनको लागि इमान, इज्जत, नैतिकता, प्रतिष्ठा, जिम्मेवारीपन केही पनि हुनु पर्दैन । चाकडी र चाप्लुसीको दाउपेच जान्ने र आफू भन्दा माथिकालाई रिझाउन जान्ने भए पुग्छ । अरुको अगाडी प्रतिष्ठित देखाउनको लागि लाखौं, करोडौं रकम उपहार, नजराना, दक्षिणा, चन्दा, कमिशन माथिल्लो ओहोदावाला मान्छेलाई चढाएर आफ्नो पक्षमा पार्न सक्ने भए पुग्छ । दुईचारजना दलाल, बिचौलिया, मध्यस्थकर्तालाई जनताको वरिपरि पठाएर काम र दाम दुबै मिलाउन सक्ने खुबी भएको मान्छे नै यस्ता कम्पनीको लागि योग्य मानिने गरेको छ । आफू जस्तै भ्रष्ट भएर अरु इमान्दार मान्छेलाई पनि लोभलालचमा फसाएर फाइडा लिन जान्ने मान्छे मात्र भ्रष्टाचार कम्पनीमा लामो समयसम्म टिकिरहन सक्छ ।

सडक, पूल, नहर, भवन, विमानस्थल जस्ता साना, ठूला विकास निर्माणको ठेक्कापट्टा आफ्ना आफन्त, ईष्टमित्रलाई जिम्मा दिई त्यसबाट मनग्य रकम कमिशनको रुपमा प्राप्त गर्नु, पद र प्रतिष्ठाको आडमा जनताबाट अधिकसे अधिक रकम लुट्नु नै भ्रष्टाचार कम्पनीको मुख्य उद्देश्य रहेको हुन्छ । यस्ता कम्पनीमा लाग्नेहरू समाजमा आफू इज्जत र प्रतिष्ठित भएको देखाउन पछि पर्दैन ।  यस्तै स्वार्थ बोकेका भ्रष्टहरूको जमात भई सबै सरकारी कार्यालयमा सञ्जाल फैलाई जरा गाडेर बसेका हुन्छन् । जब सेवाग्राी आउँछन् तब यिनीहरु विस्तारै सल्बलाउन थाल्छन् । यिनीहरुले भ्रष्टाचार कम्पनीको शुरुवात गरी खुलेआम रिसवत लिने, दिने गर्दै आइरहेका छन् । सत्तरी करोड काण्ड, न्यायाधीससंगको टेलिफोन काण्ड, यति काण्ड, काण्डै काण्ड बाहिर आएकोबाट पनि भ्रष्टाचार कम्पनी भित्रभित्रै फस्ताएको छ भन्ने कुरा बुझिन्छ । अहिलेको संघीय व्यवस्थामा जनताद्वारा चुनिएका गाउँ, नगरपालिकाका अध्यक्ष र प्रमुखदेखि संसदका सभासद् र मन्त्रालयका मन्त्रीहरूसम्म पनि लाज नमानी देशको ढुकुटीको चरम दुरुपयोग गरी दोहोरो सुविधा, राजस्व हिनामिना, ठेकेदार, व्यवसायीबाट कमिशन, सम्पत्तिको दुरुपयोग गरी भ्रष्टाचार कम्पनीको हिस्सेदार, मतियार, सञ्चालक हुन पुगेका छन् । सरकारी कार्यालय, विभाग, मन्त्रालय, संस्थानका पियन, प्रमुखदेखि सभासद्, मन्त्रीसम्मका ओहोदावाला मान्छेहरू यस्ता भ्रष्टाचार कम्पनीमा सरिक हुन पुगेका छन् । यस्ता भ्रष्टले देशको विकास र समृद्धिलाई हातीको देखाउने दाँत जस्तै बनाइरहेको छ । अहिले देशमा भ्रष्टाचारको संस्कार बसिसकेको छ । 

भ्रष्टाचार कम्पनीको लागि राजनीतिक रुपमा आशिर्वाद प्राप्त रहेको हुन्छ । राजनीतिको आड, भरोसामा देशमा भ्रष्टाचार कम्पनीले देश र जनता लुट्ने मौका पाइरहेका छन् । देशको ढुकुटीलाई आफूखुशी मनोमानी ढङ्गले प्रयोग गरी करोडौं रकम आफ्नो ढुकुटीमा भर्ने, आफन्तको बैंक खातामा जम्मा गर्ने, घरजग्गा जोड्ने मौका यसमा लाग्ने सबैले पाइरहेका छन् । यस्ता कामबाट उठाएको रकमलाई शुद्ध र चोखो धन बनाउनको लागि देशमा सार्वजनिक तथा निजी कम्पनी खोलेर लगानी गर्ने वा अरुको कम्पनीमा लगानी गर्ने काम अहिलेको परिवेशमा देखिन थालेको छ । भ्रष्टहरू मिलेमतो गरेर आफू मोटाउन थालेका छन् । देशलाई आर्थिक रुपमा कङ्गाल बनाएर आफ्नो ढुकुटी भर्न छाडेका छैनन् । ‘धन धनम् सर्व धनम् प्रधानम्’ अर्थात् धन नै सबै भन्दा ठुलो भन्दै धनको पछि इमान र नैतिकता समेत फालेर अन्धाधुन्द दौडिरहेका छन् । यसरी भ्रष्टाचार कम्पनीमा लागेर कमाएको धनले आफ्नो र परिवारको लाज त ढाक्न सकिएला । तर इज्जत ढाक्न भने कदापी सकिंदैन । चौरासी व्यञ्जनको स्वाद त लिन सकिएला । तर समाजमा सम्मानको स्वाद पाउन सकिंदैन । नराम्रो कामको परिणाम अवश्य पनि नराम्रो नै हुन्छ भन्ने कुरा यिनीहरूले बुभ्mनु पर्छ ।  

नेपालमा मान्यता प्राप्त भ्रष्टाचार निवारण, सम्पत्ति शुद्धिकरण निवारण, राजस्व चुहावत नियन्त्रण सम्बन्धमा बनेका कानूनले त्यसरी भ्रष्टाचार गरी कमाएको रकम वा स्रोत नै नभएको सम्पत्तिलाई देशको अर्थतन्त्रमा परिचालन गर्न नदिने, जफत गर्ने व्यवस्था गरेको छ । कालो धनको बिरुद्धमा नेपाल राष्ट्र बैंक, सम्पत्ति शुद्धिकरण विभाग, अख्तियार दुरुपयोग अनुशन्धान आयोग, विशेष अदालत जस्ता निकायले विभिन्न नीति, निर्देशन, आदेशहरू जारी गर्ने तथा भ्रष्टहरूको अनुशन्धान गरी मुद्दा चलाउने गरेका छन् । तर भ्रष्टाचार कम्पनीलाई ध्वस्त पार्न सकेको छैन । भ्रष्टहरूलाई दण्ड दिने गरी कानून र अदालतको व्यवस्था कानूनमै गरेको छ । तर पनि भ्रष्टहरू कालो धनलाई शुद्ध बनाउनको लागि विभिन्न हर्कतहरू देखाउने गरेका छन् । अख्तियारले भ्रष्टहरूलाई कहिले रेष्टुरेन्टबाट पक्राउ गर्ने गरेका छन् भने कहिले कार्यालयको कार्यकक्ष वा परिसरबाटै पक्राउ गर्ने गरेका छन् । हजारौं रकम रिसवत माग्नेदेखि अरबौंको रकम हिनामिना गर्ने, सम्पत्तिको दुरुपयोग गरी अकुत सम्पत्ति कमाउने भ्रष्ट पियनदेखि प्रमुखसम्मका व्यक्ति अख्तियारको नजरमा पर्ने गरेका छन् । कतिपय भ्रष्टाचारी कारागारको कोठासम्म पुग्ने गरेका छन् भने कोही अदालतमा धरौटी राखी छुट्ने गरेका छन् । अहिले कानूनलाई आफ्नो खल्तीको सुपारी जस्तै प्रयोग गरी भ्रष्टहरू सजायबाट उम्कने गरेको तथ्य सबैको सामु छर्लङ्गै छ । 

पञ्चायतकालमा भ्रष्टाचार कम्पनी भूमिगत रुपमा सञ्चालन हुने गर्दथ्यो । अहिले देश संघीय राज्य व्यवस्थासम्म आइपुग्दा यस्ता कम्पनी खुलेआम सञ्चालन हुने गरेको कुरा दिनहुँ जसो सञ्चार माध्यमबाट बाहिर आउने गरेका छन् । यस्ता नैतिक चरित्रहिन मान्छेहरू सधै अख्तियार दुरुपयोग अनुशन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, सम्पत्ति शुद्धिकरण विभाग, राजस्व अनुशन्धान विभाग जस्ता निकायको निगरानीमा रहने गरेका हुन्छन् । तर भ्रष्टहरूलाई कानूनको डरले सताएको छैन । भ्रष्टहरू यस्ता निकायलाई शुत्र नै ठान्छन् । आफ्नो कम्पनी चलाउनको लागि यस्ता निकायलाई आफू भन्दा तल नै राख्न चाहन्छ । त्यसैले अहिलेको अवस्थामा अख्तियार तथा सम्पत्ति शुद्धीकरण विभागले आफ्नो खुट्टा बलियो बनाएर भ्रष्टहरूको बिरुद्धमा उभिन र यिनीहरूको हातमा हतकडी लगाउन सक्ने हुनु पर्छ । यस कार्यले मात्र जनताहरूले सुशासनको अनुभूति गर्न पाउँछ ।



भ्रष्टाचार कम्पनीमा राष्ट्रसेवकले सरिक हुन पाउँदैन र सरिक हुन पनि मिल्दैन । राष्ट्रसेवक भनेका त नेपाल सरकारको शुद्ध तलब प्राप्त गर्ने, देश विकास र जनताको सेवाको लागि सम्झौता वा निर्देशन बमोजिम काम गर्ने, जनताको भोट पाएर निर्वाचनमा जितेर गएका इमान्दारी, जिम्मेवारी एवम् कर्तव्यनिष्ट कर्मचारी, जनप्रतिनिधि, मन्त्रीहरू आदि पर्छन् । यस्ता राष्ट्रसेवकले भ्रष्टाचार कम्पनीमा सरिक हुन सुहाउँदैन । अर्थतन्त्रलाई धरासायी बनाई देशलाई डुबाउनु राष्ट्रसेवकको धर्म होइन । देशको सम्पत्तिलाई दुरुपयोग गर्नु, राजस्व हिनामिना गरी मनोमानी ढङ्गले प्रयोग गर्नु राष्ट्रसेवकको लागि शोभनिय काम पनि होइन । यस्तो काम इज्जत, प्रतिष्ठा, नैतिकताको लागि राम्रो मानिदैन । 

देशमा भ्रष्टहरूको आर्थिक हैसियत बढ्नु र मालपोत, भूमिसुधार, यातायात, कर, कम्पनी जस्ता आर्थिक कारोबार बढी हुने निकायमा भ्रष्टाचार कम्पनी फस्ताउनुमा गैरजिम्मेवारीपूर्ण राजनीतिक व्यवस्था रहेको अहिलेको समयले देखाएको छ । दिन प्रतिदिन भ्रष्टाचार कम्पनीमा लागेर उच्च प्रतिफल आफूतिर पारेर देशको अर्थतन्त्रलाई कङ्गाल बनाउने भ्रष्टहरूको बोलवाला बढेको छ । भ्रष्टहरू रहेसम्म भ्रष्टाचार कम्पनी जिउँदो रहिरहने हुँदा राष्ट्रसेवक नै यसको अन्त्यको लागि लाग्नु पर्ने भइसकेको छ । सम्पूर्ण जनताहरू एकजुट भई खबरदारी गर्नमा लाग्नु पर्ने भइसकेको छ । यसले मात्र भ्रष्टाचार कम्पनी मृत्यु शैयामा पुग्नेछ । 


  

Comments

Popular posts from this blog

पशु बलि परम्परा र प्रचलित कानूनी मान्यता

धार्मिक महत्वको सरस्वती कुण्ड