धार्मिक महत्वको सरस्वती कुण्ड

 

ललितपुरको लगनखेलबाट झण्डै १६ कि.मी. दक्षिणमा रमणीय उपत्यका लेले रहेको छ ।  शिवदेव, अंशुवर्माको सम्वत् ५२६ को माझटोलमा रहेको अभिलेखमा यो बस्तीलाई ‘लेम्बटीद्रंग’ भनी सम्बोधन गरिएको छ । देवमाला वंशावलीमा उल्लेख भए अनुसार नेपाल सम्वत् ६३३ सालमा राजा रत्न मल्लले ३ सय घरको शहर बसाई दिएको देखिन्छ ।  ‘लेम्बटीद्रंग’ नै पछि गएर लेले हुन गएको हो की भनी अर्थ लगाउन सकिन्छ । उक्त अभिलेख अनुसार यस ठाउँ लिच्छविकालमै विकसित बस्तीको रुपमा रहेको देखिन्छ ।

प्राकृतिक दृष्टिले रमणीय हरिया डाँडाको बीचमा उर्बरा भूमि रहेको लेले धार्मिक एवम् साँस्कृतिक सम्पदाको समेत धनी छ । लिच्छविकालिन बस्ती लेलेमा हिन्दु धर्मसंग प्रत्यक्ष सरोकार राख्ने मन्दिर, शिवालयहरु रहेका छन् । हिमवत्खण्डमा चौसठी लिङ्ग मध्येमा उल्लेखित तिलेश्वर, चम्पकेश्वर र रामेश्वर यसै ठाउँमा रहेको छ । तिलेश्वरको उत्तरतर्फ चतुर्मुखी शिवलिङ्ग सहितको मन्दिर रहेको छ । सम्वत् ७८९ को शिलालेख अनुसार श्री निवास मल्लको शासनकालमा यहाँ श्री ३ शिवहरिश्वर लिङ्ग प्रतिस्था गरेको देखिन्छ । धार्मिक रुपले प्रसिद्धी पाएको जयकुमारी, बालकुमारी, टिकाभैरब, मनकामना, फुल्चोकी मन्दिर यसै ठाउँमा रहेको छ । माघ शुक्ल पञ्चमीको दिनमा भव्य मेला लाग्ने सरस्वती कुण्ड, ज्ञान कुण्ड, पार्वती कुण्डको कारण यस ठाउँ धार्मिक रुपले पनि महत्वपूर्ण रहेको छ । 

लेलेमा धार्मिक महत्व बोकेको तिलेश्वर महादेव र सरस्वती कुण्ड रहेकोे छ । बृहस्पति ऋषिको तपस्याको प्रभावबाट तिलेश्वर ज्योतिर्लिङ्ग उत्पत्ति भएको कुरा धर्मशास्त्रमा उल्लेख छ । बृहस्पति ऋषि तीर्थयात्रा गर्दै यस ठाउँमा पुगी माघे सङ्क्रान्तिको दिन मनश्री तीर्थमा नुहाएर तिलको शिवलिङ्ग बनाएर विधिवत् पूजा गरेको र नदीको जल चढाउँदा पत्थरको हुन गएको थियो । यो लिङ्गको यिनै ऋषिले श्रद्धापूर्वक पूजापाठ, ध्यान, जप गरी बस्दा यसको तेस्रो दिनमै शिवलिङ्गबाट महादेव प्रकट भई बृहस्पतिलाई वरदान दिएर भने – ‘सरस्वतीको आह्वान गर, शुक्राचार्यको कण्ठमा रहेको सरस्वती उनलाई छोडेर जलको रुपमा यहाँ आउनेछिन् । त्यतिबेला अञ्जुलीमा लिई पिई दिनू, तिम्रो वाक्य सिद्ध हुनेछ ।’ गुरु शुक्राचार्यको कण्ठमा रहेको सरस्वती आफ्नो ठाउँ छोडी बृहस्पतिको कण्ठमा बस्न थालेपछि शुक्राचार्य रिसाए । उनले सरस्वतीलाई श्राप दिए – ‘तिमीले जलको रुपमा यही कुण्डमा बस्नु परोस् ।’ पछि सरस्वतीले पनि शुक्राचार्यलाई श्राप दिइन् – ‘तिमी शुक्रकिटका रुपमा यस संसारमा रहनु परोस् ।’ सरस्वतीको श्रापको प्रभावले शुक्राचार्य पँहेलो पानीका रुपमा परिणत भई कुण्ड बन्यो । अहिले यसै कुण्डलाई ज्ञानकुण्डको रुपमा पुज्ने गरिएको छ । 

बृहस्पति ऋषिको तपस्याको कारण तिलको शिवलिङ्ग सिद्ध भई तिलेश्वर हुन गएको र उनै महादेवको अनुसार बृहस्पति ऋषिको आह्वानबाट धर्तीमा प्रकट भएको जलधारा नै सरस्वती कुण्डको रुपमा प्रख्यात रहेको छ । सरस्वती कुण्डको वर्णन गर्दा तिलेश्वर महादेव र ज्ञान कुण्डको वर्णन पनि संगसंगै आउँछ । त्यसैले तिलेश्वर मन्दिर परिसरमा रहेको सरस्वती कुण्ड र त्यसको दक्षिणतिर रहेको ज्ञान कुण्डको धार्मिक महत्व रहँदै आएको छ । 



   
सरस्वती कुण्ड, लेले,ललितपुर

हिमवत्खण्डमा नेपालको थुप्रै धार्मिक तीर्थस्थलको बारेमा उल्लेख गरिएको छ । यसको अध्याय १०१, मूल पृष्ठ २१७ मा सरस्वती कुण्डको जल छोए पछि एकजना व्याधालाई दिव्य ज्ञान मिलेको कथा रहेको छ । हरियो घाँसमा आनन्दसंग मृग चरिरहेको, त्यहाँको जल पिइरहेको थियो । व्याधाले त्यो मृगलाई वाण प्रहार गरेर मार्यो । मृग यस लिङ्गको नजिकै भूईंमा लड्यो । मृगले आफ्नो शरिर छोडेर देवताको जस्तो शरिर पाए । त्यसलाई शिवजीका गणहरूले सवारीमा राखेर शिवलोकमा लगे । मृगको त्यस्तो शरिर देखेर त्यो व्याधा बौलाहा जस्तै भयो । आज किन मलाई यस्तो भयो भनी सम्झेर व्याधाले सरस्वती कुण्डको जल छोए र पछि सबै थाहा भयो । त्यसपछि विशङ्कु नामको व्याधा ज्ञानी भएको भयो । त्यसैले सरस्वती कुण्डको जल पिएपछि दिव्य ज्ञान मिल्ने विश्वास गरिन्छ । 

हिमवतखण्डमा सरस्वती कुण्ड र चम्पकेश्वर ज्योतिर्लिङ्गको बारेमा पनि उल्लेख गरिएको छ । नेमुनिना मुने साध्र्द ययौ यत्र स्थितो हरः । व्दिशते सत्यसौ दूरे धनुषां दिशि पश्चिमे ।।३।। सरस्वत्यां मुदा स्नात्वा चम्पकेशमपूपुजत्...।।४।। अर्थात् नेमुनिसंग विरुपाक्ष गएको र खुशीले सरस्वती कुण्डमा नुहाएर चम्पकेश्वरको पूजा गरेको उल्लेख छ । ततः सरस्वतीकुडें पीत्वा जलं विरूपदृक् । वाक्सिद्धिरभवद्भूयो लिंगाच्र्चनाव्दिकिल्बिषः ।।१।। अर्थात् चम्पकेश्वर निरको सरस्वती कुण्डको जल पिएपछि विरुपाक्षलाई वाक सिद्धी मिलेको कुरा हिमवत्खण्डको यसै अध्यायमा उल्लेख गरेको छ । (हिमवत्खण्ड १०१ अध्याय, मूल पृष्ठ २१६) विरुपाक्षले सरस्वती कुण्डको जल पिएर यिनै शिवलिङ्गको पूजा गर्नाले पाप नाश भएको यस कथाले सरस्वती कुण्डको धार्मिक महत्वलाई अझ दर्शाएको छ । 

 अनध्यायको दिन पढ्नाले पढे जति जम्मै ज्ञान बिर्सन पुगेका एकजना ब्राम्हण विद्या विहीन भएर रहेको र पछि उनी चम्पकेश्वर निरको सरस्वती कुण्डमा गई त्यहाँको जल पिएपछि पूर्वजन्ममा पढेको सबै विद्या उनले सम्झेको अर्को कथा हिमवत्खण्डमा उल्लेख गरेको छ । सत्ययुगमा मनु नाम गरेका तपस्वी ब्राह्मण पूर्वजन्मको फलले गर्दा विद्या विहीन भएर रहेका थिए । गुरुबाट सिकेका विद्या झुक्किएर एक पटक परेवा तिथिमा पढ्न पुगेका थिए । सोही दोषबाट मनुले अर्को जन्ममा पनि पढेको विद्या सबै बिर्से । बृहस्पतिको मुखबाट सुनेर उनी यहीं आई ठुलो सरस्वती कुण्डमा नुहाएर खुशी भई जल पिए । जल पिउने वित्तिकै पूर्वजन्ममा पढेको चौसठी कला समेतको सबै विद्या यस जन्ममा पनि जाने भनी हिमवतखण्डको अध्याय १०१, मूल पृष्ठ २१७ मा उल्लेख छ । हिमवतखण्डको यस कथामा ‘सारस्वते महाकुण्डे स्नात्वा पपौ जलं मुदा’ भनी सरस्वती कुण्डलाई महाकुण्ड भनिएको छ । 

तिलेश्वर महादेवको ढुङ्गे मन्दिर अझै पनि लेलेमा रहेको छ । सम्वत् ८७८ बैशाख ११ गतेका दिन वंशमणि आचाज्र्येले देवल निर्माण गरेको कुरा मन्दिरको बायाँ भित्तामा कुँडिएको अभिलेखबाट प्रष्ट हुन्छ । मन्दिरलाई उनका सन्तानले  बिग्रेर पटक पटक जिर्णोद्धार गरेको अभिलेखबाट देखिन्छ । मन्दिर भित्र रहेको ज्योतिर्लिङ्गको दर्शन गर्नाले महापापबाट मुक्त भई वाक्य सिद्ध हुने विश्वास गरिन्छ । यसै मन्दिर प्राङ्गण भित्र स्वच्छ जलयुक्त सरस्वती कुण्ड रहेको छ । यो कुण्ड र ज्योतिर्लिङ्ग मुकुन्द पर्वतको फेदी मनश्री र सरस्वती नदीको संगममा रहेको छ । यहाँ रहेको कुण्डको जल पिउनाले वाक (बोली) शुद्ध हुने र दिव्य ज्ञान प्राप्त हुने विश्वास गरिन्छ । यही धार्मिक आस्था एवम् विश्वासका कारण वसन्त पञ्चमीको दिन तिलेश्वर ज्योतिर्लिङ्गको दर्शन गर्ने, सरस्वती कुण्डको जलमा स्नान गर्ने, जल पिउने तथा सरस्वतीको पूजापाठ गर्ने चलन आजसम्म रहिआएको छ । यसैको लागि माघ महिनाको वसन्त पञ्चमीको दिनमा सरस्वती कुण्डमा दर्शनार्थीहरूको बाक्लो उपस्थिती हुने गर्छ । यस दिन देश भरमा सरस्वतीको धुमधामसंग पूजा गरी उत्सवको रुपमा मनाउने गरिन्छ । बालबालिकालाई यस दिन शिक्षा आरम्भ गराउने चलन पनि रहिआएको छ । 

स्कन्दपुराण अन्तर्गत् हिमवत्खण्डमा माहात्म्य गाइएको सरस्वती कुण्डको धार्मिक महत्व रहेको प्रष्ट छ । यहाँ रहेको कुण्डको कारणले पौराणिक कालदेखि नै नेपाली जनजीवनमा सरस्वती पूजालाई महत्व दिएको देखिएको छ । लेलेमा सरस्वती कुण्ड रहेको कारणले लिच्छविकालदेखि नै त्यस ठाउँ विद्याको केन्द्र रहेको भनी अनुमान गर्न सकिन्छ । साथै शिवदेव, अंशुवर्माको अभिलेखमा वेदाध्ययनको लागि तैत्तिरियशाखागोष्ठी (गुठी)को व्यवस्था गरेको कुरा पर्नुले यस ठाउँ विद्याको केन्द्र रहेको कुराको अझ पुष्टि हुने गरेको छ । यस ठाउँमा रहेका विभिन्न ऐतिहासिक सम्पदा, धार्मिक तीर्थस्थललाई देश, विदेशमा समेत चिनाउन सक्नु पर्छ । यस ठाउँमा रहेका विभिन्न धार्मिक स्थललाई प्रचारप्रसार गरी तिनको महिमाको बारेमा जानकारी दिन सकेको खण्डमा यस ठाउँलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न बल पुग्नेछ । 


Comments