ढाका कपडा ः इतिहास र वर्तमान
‘चोली राम्रो पाल्पाली ढाकाको’ र ‘ढाका टोपी शीरैमा’ बोलको यी दुई नेपाली गीतमा ढाका कपडाको वर्णन गरेकोबाट यसको महत्व झल्किन्छ । नेपालमा उत्पादन हुने ढाका कपडा र यसबाट निर्मित विभिन्न सामाग्रीहरु देशको पहिचान बनिसकेको छ । पछिल्लो समय ढाका कपडाबाट बनाइएका विभिन्न पहिरन, जुत्ता, झोला, ब्याग आदिले नेपाली बजारमा प्रवेश पाएको छ । विभिन्न धार्मिक, सामाजिक कार्यक्रममा अहिले ढाका कपडाको पहिरनले निकै चर्चा पाएको छ । परम्परागत पहिरनका साथै आधुनिक पहिरन बनाउनमा पनि ढाका कपडा प्रयोग हुन थालेका छन् ।
नेपालमा उत्पादित ढाका कपडा बंगलादेशको ‘जमदानी ढाका’संग मिल्ने गरेको इतिहास छ । यो कपडा अंग्रेज शासित पूर्वी बंगाल हुँदै नेपाल आइपुगेको अनुमान गरिएको छ । सन् १९५० को दशकको अन्ततिर पाल्पाका गणेशमान महर्जनले ढाका (त्यतिबेलको पूर्वी पाकिस्तान) यात्राको क्रममा मुस्लिमहरुले लगाएको जमदानी सारीबाट प्रभावित भएर उनैले पाल्पा भित्र्याएको र कपासको धागो प्रयोग गरी हाते तानमा ढाका कपडा बुन्न थालेको इतिहास पढ्न पाइन्छ । वि.सं. २०१७ सालमा ४ ओटा हाते तानमा कपडा बुन्न थालेको कार्यले घरेलु उद्योगको रुपमा विकसित हुने मौका पाए । २०४८ सालसम्म पाल्पामा एउटै ढाका उद्योग सञ्चालनमा रह्यो त्यतिबेलादेखि पाल्पामा उद्योग मार्फत् रोजगारको सृजना भइसकेको थियो ।
नेपालमा ढाका कपडाको शुरुवाती इतिहास फरक फरक रहेको पाइन्छ । राणा प्रधानमन्त्री जंगबहादुरको बहिनी डम्बर कुमारीले रिसाएको आफ्नो दाजुलाई खुशी पार्न बंगलादेशी ढाका कपडाबाट बनेको टोपी दिए पछि नेपालमा विस्तारै ढाका कपडा बुन्न थालेको भन्ने भनाइ पनि रहेको छ । अर्का राणा प्रधानमन्त्री चन्द्र शम्सेरको पालामा उनको नातिनी राजकुमारी नानीकी नर्सको रुपमा नेपाल आएका जेसी ब्राउन (सन् १८८८ देखि १९८३) ले नेपालमा ढाका भित्र्याइएको प्रसंग पनि रहेको छ । बेलायतको म्यानचेष्टर विश्वविद्यालयको अध्येता एम्मा मार्टिनले आफ्नो ग्यालरी स्केच बुकमा यो कुरा उल्लेख गरेको र सो कुरा प्रकाशमा आउनुले पनि ढाका कपडाको इतिहास झल्किन्छ ।
मुन्धुममा ढाका कपडाको वर्णन गरेको पाइन्छ । मुन्धुममा वर्णन गरिएकी सुन्दरी ‘युमा’ले तान बुन्दा थाक् थाक् आवाज आएपछि यसलाई थाका भनिएको र त्यही थाकालाई अहिले ढाका भन्न थालिएको भनाइ पनि रहेको छ । पूर्वी नेपालमा लिम्बुनी महिलाले शरिरलाई न्यानो बनाउन ढाका कपडा बुन्न थालिएकोले यसलाई ‘लिम्बुनी ढाका’ भन्ने गरिन्छ । लिम्बु जातिको बसोबास हुने गरेको पूर्वी नेपालको तेह्रथुममा यस्तो ढाका उत्पादन हुने गरेको छ । यस्तो कपडा अहिले तेह्रथुमे ढाकाको नामले प्रसिद्ध छ । यसको बुट्टा पाल्पाली ढाका भन्दा अलि ठुलो र चम्किलो हुन्छ । यस किसिमको कपडाबाट पनि आकर्षक पहिरन बनाउने गरेको छ ।
अन्य आधुनिक कपडासंग ढाका कपडाको समिश्रण गरेर आधुनिक पहिरन बनाउन थालिएको छ । बैवाहिक कार्यक्रममा दुलाहाले जरी मिश्रित ढाका कपडाको दौरा, सुरुवाल, टोपी, जुत्ता सहितको पूर्ण पहिरन लगाउने चलन अत्यधिक बढ्न थालेको छ । राजा महेन्द्रले आफ्नो शासन कालमा सरकारी कर्मचारीलाई ढाका कपडाको टोपी अनिवार्य गरेको थियो । यसपछि परम्परागत ढाकाको पहिरनले मान्यता प्राप्त गरेको थियो । अहिले विभिन्न भोज, धार्मिक पूजा, मेला, अवसरमा महिलाले चोली, ब्लाउजदेखि लेहेंगा, वानपिस जस्ता पहिरन प्रयोग गरिनाले पनि बजारमा यसको माग अत्यधिक बढ्न थालेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा समेत ढाका कपडाबाट बनाइएको आकर्षक पहिरन लगाउने चलनले व्यापकता पाएको छ । अहिले सामान्य नागरिकदेखि सेलिब्रेटीसम्मले ढाका कपडाको पहिरन लगाई आकर्षक देखिन थालेका छन् । हरेक फेशन डिजाइनरको रोजाइमा आकर्षक बुट्टा र चम्किलो रङको ढाका कपडा पर्ने गरेको छ । हरेक फेशन सोहरुमा ढाका कपडालाई अन्य कपडासंग समिश्रण गरी पहिरनको प्रदर्शन गर्न थालिएको छ । आधुनिक पहिरनको डिजाइन अब ढाका कपडा विना अपुरो जस्तै देखिएको छ ।
ढाका कपडाको राजधानी मानिएको तेह्रथुम र पाल्पामा परम्परागत र आधुनिक शैलीका ढाका कपडाको उत्पादन हुने गरेका छन् । ललितपुरको लुभू, ठैव, बाडेगाउँ, टोखामा स्वचालित मेशिनबाट विभिन्न बुट्टा र रङका ढाका कपडा उत्पादन गर्ने गरेका छन् । यस बाहेक, मोरङ, ताप्लेजुङ, खोटाङ, पाँचथर, झापा, धनकुटा, सुनसरी, उदयपुर, भोजपुर, रामेछाप, सिन्धुली, बुटवल, नुवाकोट, धादिङ, पोखरा, सुर्खेत, गुल्मी, सोलुखुम्बु आदि ठाउँमा ढाका कपडा उत्पादन हुने गरेका छन् । उत्पादित ढाका कपडा देशको काठमाण्डौं, पोखरा, धरान, झापा, विराटनगर लगायतका प्रमुख बजारमा व्यापारीहरुले बिक्री गर्ने गरेका छन् । देशको हरेक होलसेलदेखि खुद्रा पसलमा ढाका कपडा विक्रीको लागि राख्ने गरेको देख्न सकिन्छ । सस्तोदेखि महंगो मूल्यका कपडा बजारमा विक्री हुने गरेका छन् । उत्पादनको लागि धागो भने विदेशबाट आयात गरिंदै आएको छ । स्वदेशमा उत्पादित यस किसिमको कपडा नेपालका विभिन्न ठाउँका अतिरिक्त जापान, अमेरिका, क्यानाडा, स्वीजरल्याण्ड, नेदरल्याण्ड लगायतका देशमा समेत निर्यात हुने गरेको कुरा व्यवसायीहरु बताउँछन् । बेलायत, हङकङ, सिंगापुर, ब्रुनाई, भारत लगायतका देशमा तेह्रथुमे ढाका कपडा निर्यात हुने गरेको छ । विशेष गरी लिम्बुनी महिलाहरुले शरिरलाई न्यानो बनाउन बुन्न थालिएको ढाका कपडाले विदेशमा समेत बजार लिन सफल भएको छ । नेवार समुदायका व्यक्तिले पाल्पामा चम्किलो रङको कपडा र तेह्रथुममा लिम्बुनी महिलाले कपडा बुनी शुरु गरेको उद्योग र यसको बजार स्वदेश तथा विदेशमा फैलिन पुगेको छ ।
नेपाली ढाकाको कपडा
नेपाली ढाकाको कपडा अब परम्परागत टोपी र चोली बनाउने काममा मात्र सीमित रहेन । यस किसिमको कपडाबाट महिला तथा पुरुषका ब्लाउज, सारी, लेहेंगा, कुर्था सुरुवाल, सल, पछ्यौरा, गलबन्दी, कोट, इस्तकोट, दौरा सुरुवाल, टाई जस्ता पहिरनको अतिरिक्त रुमाल, पर्स, ब्याग, झोला, जुत्ता, कुसनको खोल, सोफाको खोल, पर्दा जस्ता विभिन्न किसिमका सामाग्रीहरु बन्ने गरेका छन् । भक्तपुरमा कपडा व्यवसायीहरुले ढाका कपडाबाट हाकु पतासी (परम्परात सारी), सारी, कोट, टोपी जस्ता सामाग्रीहरु उत्पादन गर्ने गरेका छन् । साथै यस कपडाबाट बनेका सामाग्री नेपाली बजारदेखि चीन, जर्मन, थाईल्याण्ड, हङकङ जस्ता अन्तर्राष्ट्रिय बजारमा समेत विक्रीको लागि निर्यात हुने गरेको छ । स्वदेशमा मात्र नभई विदेशमा समेत यसप्रति मानिसहरुको मोह बढ्न थालेको छ । यसको इतिहासदेखि वर्तमानसम्मको अवस्थालाई हेर्दा मानिसहरुले यसबाट बनेको सामाग्रीहरु प्रयोग गर्ने चलन बढ्न थालेका छन् । मौलिक कपडा भएको कारणले यसबाट बनेको सामाग्री सबैले मन पराउन थालेका छन् । ढाका कपडा र यसबाट बनेका सामाग्रीहरुको निर्यातले देशमा विदेशी मुद्रा भित्रिने र अर्थतन्त्र सबल हुने मौका पाउँछ ।
ढाका कपडा देशको मौलिकतासंग जोडिएको हुँदा देशको पहिचान बनिसकेको छ । स्वदेशी श्रम, सीप र लगानीको प्रयोग गरी हुने ढाका कपडाको उत्पादनले नेपालमा टेक्सटाइल उद्योगको विकास भएको छ । परम्परागत प्रविधि, थोरै लगानी र स्थानीय जनशक्तिको प्रयोग गरी गाउँ गाउँमा हाते तान मार्फत् कपडा उत्पादन गर्न सकिन्छ । स्थानीय तहले यस्ता घरेलु उद्योगको विकासको लागि उद्यमीको पहिचान गरी आवश्यक अनुदान तथा बजार प्रवद्र्धनको व्यवस्था गर्न सकिन्छ । परम्परागत प्रविधिबाट हटेर ठुलो पूँजी लगानी गरी उद्योगको रुपमा पनि यसलाई सञ्चालन गर्न सकिन्छ । स्वचालित तथा अर्ध स्वचालित मेशिनको प्रयोग गरी प्रशस्त ढाका कपडा उत्पादन गर्न सकिन्छ । यस्तो मौलिक कपडालार्ई विश्व बजारमा प्रचार प्रसार गर्न र बजार प्रबद्र्धन गर्न सकेको खण्डमा कपडाको माग बढ्न गई स्वदेशी उद्योगको सञ्चालनमा टेवा पुग्ने निश्चित छ ।
अहिले देशका कतिपय ठाउँमा ढाका उद्योग सञ्चालनमा रहेका छन् । आर्थिक समृद्धिको लागि अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई नकार्न सकिंदैन । स्वदेशी उद्योगको विकासको लागि उद्योगलाई छुट तथा सहुलियतको व्यवस्था हुने गरी औद्योगिक व्यवसाय ऐन, २०७६ मा व्यवस्था गरेको छ । कच्चा पदार्थ, सहायक कच्चा पदार्थ वा अर्ध प्रशोधित कच्चा पदार्थको प्रयोग वा प्रशोधन गरी मालवस्तु उत्पादन गर्ने उद्योगबाट आर्जित आयमा २० प्रतिशत र उत्पादनमूलक उद्योगको निर्यातमा प्राप्त आयमा २५ प्रतिशत छुट हुन्छ । उद्योगले आफ्ना श्रमिक वा कर्मचारीको हितमा गरेको खर्च, व्यवसायसंग सम्बन्धित बजार प्रवद्र्धन, सर्वेक्षण र विज्ञापनको लागि भएको खर्च आयकर प्रयोजनको लागि कट्टी गर्न पाउँछ । महिला उद्यमीको लागि उद्योग दर्ता दस्तूरमा ३५ प्रतिशत छुट हुन्छ । यस किसिमको छुट तथा सहुलियतले उद्योग फस्ताउने मौका पाउँछ ।
उद्योगको सफलताबाट मात्र देशमा आर्थिक समृद्धि निश्चित छ । उद्योगको स्थापना पछि देशमा रोजगारको सृजना हुने गर्छ । स्वदेशमै हुने ढाका कपडाको उत्पादनबाट विदेशी कपडाको प्रयोग घट्दै जान्छ । यसले विदेशी कपडा प्रतिस्थापन हुँदै जान्छ । नेपाली उद्योगमा हुने कपडाको उत्पादनले नेपाली अर्थतन्त्रलाई सबल बनाउन मद्दत पुग्छ । तर भारतबाट आयात हुने सुतीमा प्रिन्ट गरी बनाइएको ढाका कपडाले गर्दा नेपाली ढाकाको बजारलाई सीमित बनाउने देखिन्छ । त्यसैले नेपाल सरकारले नेपाली ढाका कपडाको बजारलाई सुरक्षित बनाउन आयातित प्रिन्ट सुती ढाकामा एन्टी डम्पिङ शुल्क लगाउने व्यवस्थाको शुरुवात हुनु पर्छ । यसले ढाका कपडाको नेपाली बजार खुम्चिन पाउँदैन । बजारलाई समेत असर पर्ने गरी आवश्यकता भन्दा बढी कपडा गोदाममा थुपारेर राख्ने कार्यमा पनि नियन्त्रण हुन्छ । स्वदेश तथा विदेशमा ढाका कपडा प्रतिको मोह जगाउन सकेको खण्डमा बजारमा यसको माग बढ्ने र बजारको आकार समेत बढ्न जाने निश्चित छ ।



Comments
Post a Comment