देवाली पूजा ः कुललाई सम्झने परम्परा
नेपालका आदिवासी, जनजाति कहलिएका नेवाः समुदाय भित्र परापूर्वकालदेखि दिगुद्यो मान्ने परम्परा रहँदै आएको छ । देगुद्यो, दिगिद्यो, दिगुद्यो आदि नामबाट नेवाः समुदायमा वार्षिक रुपमा पूजाआजा गरिन्छ । यस किसिमको पूजालाई देगुपूजा वा दिगिपूजा वा दिगुपूजा भन्ने गरिन्छ । खस भाषामा दिगुद्योलाई कुलदेवता भन्ने गरिन्छ । आफ्नो कुलको देवता भएको र यसलाई नेवाः समुदायमा पूजिने हुनाले कुलदेवता भन्ने गरेको धारणा रहेको छ । अहिले नेवाः समुदाय भित्र आफ्नो कुलको सबै परिवार, आफन्तजन मिलेर कुलदेवताको पूजा गर्ने परम्परा अद्यावधिक रुपमा रहँदै आएको छ । आफ्नो कुललाई सम्झने परम्पराको रुपमा यसलाई मान्दै आएका छन् । अरु जातिय समुदायमा पनि कुलपूजा गर्ने गरेको पाइन्छ । अहिले यो पूजालाई देवाली पूजाको रुपमा चिनिने गरेको छ । त्यस्तो पूजा गर्दा कुलदेवतालाई बोका बलि दिने गरिन्छ । कसै कसैले हाँस पनि बलि दिई पूजा गर्ने गरेको पाइन्छ ।
कुलदेवता कुलको रक्षक हो । यो देवता अरु सबै देवता भन्दा फरक हुने गर्छ । सोही देवतालाई सम्झी पूजा गर्ने परम्परा नै कुलपूजा हो । नेवाः समुदायमा हरेक वर्ष आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै कुल शान्तिको लागि कुलदेवताको पूजा गर्ने परम्परा रहेको छ । परिवारको सुख शान्ति तथा प्रकृतिसंग सामना गर्ने आधार शक्ति प्राप्तिको लागि दिगुद्यो वा कुलदेवताको पूजा गरिन्छ । यो पूजा प्रत्येक वर्षको बैशाख महिनाको अक्षय तृतियादेखि शुरु गरी जेठ महिनाको कुमार षष्ठी, सिथीनखःसम्म सकाउनु पर्ने मान्यता रहेको छ । सिथीपछि वर्षको चाडपर्व सकेको मानिन्छ । अहिलेको सिथी लिच्छविकालिन षष्ठी पूजाको रुप हो । कुमार कार्तिकेयको पूजा गरी मनाइने यो पर्व नेवाः समुदायको मौलिक पर्व हो । यस दिन ६ किसिमका गेडागुडीको वः (बारा), चतामरी (चामल पिनेर पानीमा गिलो गरी तावामा सेकाई बनाएको रोटी) सहित विभिन्न परिकार बनाई भोज खाने गरिन्छ । यस दिन पानीको मुहान, ईनार, ढुंगेधारा, कुवा, पोखरी जस्ता प्राकृतिक स्रोत, सम्पदा सरसफाई पनि गरिन्छ । यस कार्यले वर्षको लागि पानीको आपूर्ति सहज हुने विश्वास गरिन्छ । तर देवाली र सिथी एकै दिन मान्नुको भने कुनै सम्बन्ध छैन । सहजताको लागि दुवै पूजा एकै दिन गरेको हुन सक्छ ।
नेवाः समुदाय भित्र चलेको धारणा अनुसार दिगुद्यो वा कुलदेवताको कुनै मूर्ति नभई अमूर्त रहेको हुन्छ । यसलाई सबैले चिन्न सक्दैन । तर आफ्नो कुल, बंशका परिवारको सदस्यले भने चिन्न सक्ने अवस्था हुन्छ । समान भुजा भएको त्रिभुज आकारमा किकिपा सहितको देगुद्यो स्थापना गरिएको हुन्छ । तर कतिपय नेवाः समुदायले दिगुपूजाको दिन किकिपा दिगुद्योलाई पहिराएर पूजा गर्ने परम्परा रहेको छ । किकिपाले देवीको अमूर्त स्वरुपको प्रतिनिधित्व गरेको हुन्छ । किकिपा खड्ग आकारमा चाँदीको पाताबाट बनाइएको हुन्छ, जसलाई सर्वोच्च शक्तिको संकेतको रुपमा लिइन्छ ।
खास गरी दिगुद्योको कुनै आकृति वा मूर्ति नहुने हुँदा यसको वास्तविकतालाई कसैले चिन्न सक्दैन । दिगुद्यो कुनै सार्वजनिक, चौर, जंगल जस्ता खुला ठाउँमा तान्त्रिक विधिबाट ढुंगा वा तोरणको रुपमा जमिनमा गाडेर पीठको रुपमा स्थापना गरिएको हुन्छ । वास्तवमा दिगुद्यो शक्तिमान देवी तलेजु भवानी वा जिवीत देवी कुमारीको अमूर्त रुप हो भन्ने धार्मिक मान्यता पनि रहेको छ । कुलदेवतालाई कसैले चिन्न नसकोस् वा अरुले चिनेर हानि, नोक्सानी पु¥याउन नसकोस् भनेर तोरण वा पीठको रुपमा स्थापना गरिएको हुन्छ । सम्भवतः नेवाः समुदायले आफ्नो दिगुद्योलाई कसैले पनि चिन्न नसकोस् भन्ने मान्यताको साथ पीठको रुपमा स्थापना गरिएको हुन्छ । नेवाः समुदाय आफ्नो दिगुद्योलाई बाहिर खुला रुपमा प्रकट गर्न चाहँदैन । पीठको स्थापना गर्ने चलन भने लिच्छवि राजा गुणकामदेवको पालामा आठौं शताब्दी तिर भएको मानिन्छ ।
जयस्थिति मल्लको शासनकालमा दिगुपूजा गर्ने गरेको इतिहास छ । नेपाल सम्वत् ५०३ मा धर्म मल्लदेवको विवाह भएको, त्यसको ९ दिन पछि देघुरीपूजामा जानु भएको कुरा गोपालराजवंशावलीमा उल्लेख गरिएको छ । देघुरीपूजामा ६ वटा रांगा बलि दिएको कुरा पनि वंशावलीमा परेको छ । त्यतिबेलाको देघुरीपूजा नै आजको दिगुपूजा हो भन्न सक्ने अवस्था छ । पछि विस्तारै कुलको पूजाको रुपमा दिगुपूजा गर्ने परम्पराको विकास भएको देखिन्छ ।
दिगुद्यो नेवाः समुदायको पुख्र्याैली वा परम्परागत देवाता हुन् । घर परिवारमा नयाँ जन्मेको बच्चा, नयाँ विवाह गरी ल्याइएको दुलहीलाई घरमुली लोग्नेमान्छेले दिगुद्योको पीठमा लगेर पूजा गरी ‘दुथ्या के गु’ परम्परा रहेको छ । यसलाई नेपालीमा कुलदेवताकोमा भित्र्याउने भनिन्छ । यसलाई अर्को शब्दमा नयाँ सदस्यलाई कुलमा सामेल गराउने भन्न सकिन्छ । त्यसपछि ती व्यक्तिहरु त्यस घर परिवार वा कुलको फुकी वा सदस्य भइन्छ । त्यसपछि कुलको हरेक तान्त्रिक पूजा, पर्वमा उनीहरु सहभागी हुन पाउँछ । कसैले दिगुपूजा भिन्न भएर गर्छ भने त्यो व्यक्ति वा परिवार आफ्नो कुलबाट अलग भएको मानिन्छ ।
दिगुद्योको दायाँतर्फ नारायणको स्थापना गरिएको हुन्छ । दिगुद्यो र नारायणद्यो दुवैको वर्षको एक पल्ट दिगुपूजाको दिनमा पूजाआजा गरिन्छ । देगुद्योलाई कालो बोका बलि दिई तान्त्रिक विधिबाट पूजा गरिन्छ । मध्यकालमा तन्त्रको प्रभाव बलियो रहेको समयमा दिगुपूजा तान्त्रिक विधिबाट गर्ने गरिन्थ्यो । अहिले पनि तान्त्रिक पूजारीले दिगुद्योलाई पूजा गर्दा तन्त्र साधना गरी विधिपूर्वक पूजा गर्ने परम्परा रहेको छ । तर नारायणद्योले बोकाको बलि स्वीकार नगर्ने हुँदा पञ्चामृतले पूजा गरिन्छ । शिव (महादेव)लाई मान्ने शैवमार्गीहरुको तान्त्रिक देवता दुर्गा भवानी वा विष्णुलाई मान्ने बैष्णवीहरुको शास्त्रीय देवता नारायणलाई दिगुद्योको रुपमा मान्ने गरिन्छ । बज्रयान बौद्धमार्र्गीको तान्त्रिक देवता कुमारी दिगुद्योको रुपमा रहेको छ । नेवाः समुदाय भित्रको केही जातिले जिवीत देवी कुमारीलाई कुलको रक्षा गर्ने देवीको रुपमा मान्ने गरिन्छ । कुनै नेवाः जातिको अवलोकितेश्वर (बुद्ध) दिगुद्योको रुपमा रहने गरेको छ । त्यसैले दिगुद्योलाई सबै देवीदेवताको मिलीजुली (साझा) देवताको रुपमा लिन सकिन्छ । एउटै जातिय समुदाय भित्र पनि सबैको एउटै दिगुद्यो नभई फरक फरक हुने गर्छ ।
आफ्नो कुलको रक्षाको कामना गर्दै हरेक वर्ष दिगुद्यो स्थापना गरेको ठाउँमा गई सबै परिवारजन भेला भई दिगुपूजा गर्ने वा देवाली मनाउने गरिन्छ । विभिन्न ठाउँमा बसोबास गरेका कुलको सबै परिवार तथा आफन्त एकै ठाउँमा भेला हुने र रमाइलो गर्दै आफू भन्दा ठूलाबडाबाट टिका प्रसाद ग्रहण गरी आशीर्वाद लिने दिने हुँदा यसलाई पर्वको रुपमा मानिन्छ । दिगुद्योको पूजाआजा सकेपछि सबै परिवारजन मिली देवता संगै रहेको ठाउँमा बसी भोज खाने गरिन्छ । यस्तै भोज वा परिवारको जमघटको लागि कुलको पितापूर्खाहरुले दिगुद्योलाई खुला ठाउँमा स्थापना गरिएको हुनु पर्छ । दिगुद्योको पीठ स्थापना गरेको कारण अहिले पनि खुला ठाउँ वा चौर, जंगल आदि पनि संरक्षण हुन पाएको छ ।
सन्दर्भ सामाग्री ः
१. कुमारी ः मल्टिफेसेटेड लिभिंग गडेस, २०२२, सिद्धी बि. रञ्जितकार
२. हिती प्रणाली, सन् २०२२, पद्म सुन्दर जोशी
३. मजदूर दैनिक, वर्ष २५, अंक ११८, मिति २०८० जेठ ७
४ं गोपालराजवंशावली, सन् १९८५, धनबज्र बज्राचार्य र कमल पि. मल्ल
५. उज्यालो एफएममा संस्कृतिविद् ओम धौभडेलको अन्तर्वार्ता https://lahana90.blogspot.com/2023/05/lahana-with-om-dhaubhadel.html?=1



Comments
Post a Comment