अवोध छौ तिमी

 



डाँडा पारिको घाम संगै

दौडी आएँ तिमीलाई भेट्न

प्रकृतीको सुन्दर हरियालीमा

रातो गुलाफ सरी उभिरहेकी थियौ

ओठमा अनौठो मुस्कान भरी

एक्लै घाँस काटिरहेकी थियौ

कलमको भाषा नबुभ्mने तिमीले

हँसियाको भाषा बुझेकी रहिछौ

कस्ती सोझी रहिछौ तिमी

जीवनको अर्थ नै थाहा छैन तिमीलाई

भाँचेको साँघु जोडेर

खोला तर्न अनि कसरी सकिएला

 

कालो लामो केशले भुईं छुवाई

चुराको छमछम आवाजमा

कोइली बनी गीत गाइरहेकी थियौ

गीतमा थियो मिठास अनि दुःखको वेदना

कोही भएन तिम्रो वेदना सुन्ने

मात्र छन् वन, पहाड खुला आकाश

विलाएको तिम्रो स्वरहरू

तिमी डुल्ने वन, पहाड वगरहरूमा

कस्ती निर्मल रहिछौ तिमी

कसैप्रति पोख्दैनौ तिमी आफ्नो गुनासो

चुँडेको धागो जोडेर

कपडा बुन्न अनि कसरी सकिएला

 

ओठमा लाली, कानमा झुम्का लगाई

रूखको फेदमा उभिदिंदा

विश्वामित्रको तप भंग गर्न भनी

मत्र्यलोक झरेकी मेनुका जस्ती तिमी

सृष्टिको चक्र चलाउनु पर्ने तिमीले

कति दिनसम्म सहिरहने स्वार्थी इन्द्रहरूको अन्याय

आफ्नो धर्म कर्मको भाषा नबुभ्mने

कस्ती अबुझ रहिछौ तिमी

जिन्दगी कसरी जिउनु पर्छ थाहा छैन

पंक्षी भैंm प्वाँख फिजाई

आकाशमा उड्न अनि कसरी सकिएला 

                    ----

       बज्रबाराही साहित्यिक समूह, चापागाउँव्दारा मिति २०५७।६।७ मा आयोजित कवि गोष्ठीमा यस कविताले प्रथम स्थान हासिल गर्न सफल भएको थियो कार्यक्रमका प्रमुख अतिथि प्रज्ञाप्रतिष्ठानका उपकुलपति मोहन कोइराला रहनु भएको थियो राजाराम श्रेष्ठ)

Comments

Popular posts from this blog

पशु बलि परम्परा र प्रचलित कानूनी मान्यता

भ्रष्टाचार कम्पनी प्राइभेट लिमिटेड

धार्मिक महत्वको सरस्वती कुण्ड