चापागाउँमा हराउँदै जलद्रोणी

 वायुमण्डलको पञ्चतत्व अन्तर्गत् पानी पनि पर्छ । पानी मानवीय जीवनको लागि अत्यावश्यक हुन्छ । पानीको खाँचो पूरा गर्नको लागि लिच्छविकालदेखि नै पुर्खाहरुले विभिन्न किसिमका ढुङ्गेधारा, जलद्रोणी, पोखरी आदि बनाउन लगाएका थिए । अहिले पनि यस किसिमका सम्पदाहरु मानव वस्ती देख्न सकिन्छ । पाइपको सहयोगबाट घर घरमा धारा मार्फत् पानी वितरण गर्ने आधुनिक प्रविधीको विकास संगै यस्ता प्राकृतिक सम्पदाको प्रयोगमा कमी आएका हुन् ।     

पानीको खाँचो पूर्तिको लागि आर्थिक रुपले सम्पन्न दानपतिहरु पहिले ढुङ्गेधारा बनाउने गर्दथे । त्यस्ता कार्यको बन्दोवस्तीको लागि गोष्ठी (गुठी) समेत राखिएको हुन्थ्यो । पानीको बन्दोवस्तको लागि पाणीय गोष्ठी, प्रणाली गोष्ठी जस्ता विभिन्न गुठीको बन्दोवस्त गर्ने गरेको कुरा ललितपुर जिल्लाको लेलेमा रहेको शिवदेव, अंशुवर्माको सम्वत् ५२६ को अभिलेखबाट प्रष्ट हुन्छ । 

ढुङ्गेधारा बनाउन पानीको मुहान, खाली जग्गा, निकासको बन्दोवस्त गर्नु पर्ने र खर्च पनि बढी लाग्ने भएको हुँदा कम खर्चमा मध्यमवर्गका दानपतिहरु जलद्रोणी बनाउने गर्दथे । यसलाई जरुँहिटी, जरुँ वा टुटेधारा पनि भन्ने गरिन्छ ।  विभिन्न देव देवीका मूर्तिहरु बनाउन लगाई त्यसमा स्थापना गर्ने गर्दथे । जलद्रोणीमा नियमित पानीको व्यवस्था गर्नु अति आवश्यक हुन्छ । त्यसो हुँदा जलद्रोणीको संगसंगै नियमित पानी जम्मा हुने कुवा वा इनार पनि बनाइएको हुन्छ । संगै बटुवाको बसाइको लागि एक पाटी पनि रहेको हुन्छ । यसरी नजिक रहेको पानीको स्रोतबाट जलद्रोणीमा पानी भर्ने व्यवस्था मिलाई यसको निर्माण गरिएको हुन्छ । ठुलो ढुङ्गामा औजारको सहायताले खोपिल्टो (खाल्डो) बनाई अघिल्तिर महिलाको स्तन आकृतिको डँुडबाट पानी झर्ने र पछिल्तिरबाट आवश्यकता अनुसार पानी भर्न मिल्ने गरी जलद्रोणीको निर्माण गरेको हुन्छ । यस्ता जलद्रोणीमा विहान सबेरै महिलाले पानी भरेको खण्डमा त्यस महिलालाई पुण्य प्राप्त हुने विश्वास गरिन्छ । त्यसैले त्यस समयमा महिलाले जलद्रोणीमा पानी भर्ने गर्दथे । यसैको पानी बटुवा तथा वरिपरिका मानिसहरुले पिउनको लागि प्रयोग गरिंदै आएका थिए । अहिले यस्तो चलन हराइसकेको छ ।  

 नेपाल राज्यको विभिन्न ठाउँमा यस्ता जलद्रोणी देख्न पाइन्छ । ललितपुर, चापागाउँमा पनि यस्ता पुराना जलद्रोणी देख्न सकिन्छ । चापागाउँको गाङ्धवु (गाङ्बु) टोलमा ने.सं. ५९२ मा यक्षमल्लको शासनकालतिर जलद्रोणी स्थापना गरेको अभिलेखबाट देखिन्छ । दुन्थरिगाउँ ग्वथननी बस्ने प्याकुभारो प्रमुखले जलद्रोणी मर्मत गरेको कुरा अभिलेखमा उल्लेख छ । यो जलद्रोणी मर्मत सम्भार गर्नको लागि गुठी पनि राखेको देखिन्छ । त्यतिबेलादेखि नै चापागाउँमा गुठीको शुरुवाट भएको देखिन्छ । अभिलेखमा जलद्रोणी सम्बन्धी यस्तो लेखिएको छ । 

१. श्रेयोस्तु सम्वत् ५९२ ज्यस्तकृष्णपञ्चम्यायान्तीथ्व ।।

२. धालोवो जलधुनि न्हवदसे चोरे तवखतकं ल्होङा जुरो 

३. श्रीदुन्थरीगाम ग्वथननि प्याकुभारो प्रमुखनं ल्होङा

४. गुथि थ्वथ्व ।। राम ।। संतटि ।। नाथ ।। मयतसिं 

यस अभिलेख अहिले चापागाउँमा कतै देखिंदैन । यो अभिलेख अनुसारको जलद्रोणी अहिले चापागाउँको कुन ठाउँ वा टोलमा रहेको भन्ने कुराको खोजी हुनु जरुरी छ । 

चापागाउँको पाउलीटोलमा मूल सडक संगै पूर्वतिर फर्केको अवस्थामा रहेको ने.सं. ७७६ मा स्थापना गरिएको जलद्रोणी रहेको छ । काशि भारो, गंगाराम भारो, निव भारो समेत ३ जना व्यक्तिले उक्त धारा बनाई प्रतिष्ठा गरेको कुरा सोही जलद्रोणीको शिलामा कुँडिएको छ । 

१. श्रेयास्तु ।। सम्वत् ७७६ फाल्नुन शुक्ल द्वितियातिथो ।।

२. घूतघसृ लक्षं कुसिन्हियोगे, वृहस्पति बार, थ्वकुन्हु काशि

३. भारो, भ्रजे गंगाराम भारो, कवच चाफेणिव भारो, थ्वसकर

४. सोम्हां नुकिजस्यां जरपंनि दयकं, प्रतिस्ठा याङा दिन, शुभे ।।

           चापागाउँमा अवस्थित कलात्मक जलद्रोणी 

त्यसै गरी चापागाउँ झ्यालपाटीमा मूल सडक संगै पूर्व फर्केको अवस्थामा एक पुरानो जलद्रोणी रहेको छ । यो जलद्रोणी मुनि विष्णुको मूर्ति स्थापना गरिएको छ । शिलालेख त्यहाँ नदेखिएकोले जमिन मुनि पुरिएको हो की भनी अनुमान गर्न सकिन्छ । यसैमा रहेको शिलालेख अनुसार यो ने.सं. ८१८ मा निर्माण गरेको देखिन्छ । यस संगै पाटी पनि निर्माण गरेको देखिन्छ । धनबज्र बज्राचार्यको पुस्तक मध्यकालका अभिलेखको पृष्ठ २९८ मा यसको सबै विवरण दिइएको छ । यहाँ केही अंश (अभिलेखको १९–२१ औं हरफ) मात्र उल्लेख छ ।

१९. दान पिते मार जुरो ।।  ।। भूयः स एव मान ववुयात नामल जल– 

२०. धेन दयकं, इतको वु रोव पित्या ४ दुन्ता जुरो, लंख थङ म्हया–

२१ त जाक पंm ६७ वर्षप्रति विय मार परशेष गुंथिभारो पनिस्त

२२. भक्ष भोजन यात जुरो फले, जल धेने स्यल्हो याय मार जुरो ।।

 यसै अभिलेखको आधार मान्दा दुर्गाराम भारो, गंगाराम भारो समेतका परिवारले निर्माण गरेको देखिन्छ । यसको बन्दोवस्तको लागि लागि दाताहरुले जग्गा समेत राखिदिएको अभिलेखबाट देखिन्छ ।  

एकुटोल गणेश मन्दिरको सामुन्ने पनि जलद्रोणी रहेको देखिन्छ । पहिले यसै जलद्रोणीको मुनि ब्रम्हा (कसैले दतात्रय वा शिव पनि भन्ने गरिन्छ )को मूर्ति (ई. ५००–५५०) स्थापना गरेको छ । यो मूर्ति सुरक्षितका साथ राखिएको छ । अहिले जलद्रोणीको ढुङ्गा त्यस ठाउँमा पुरिएर रहेको कारण यसको अवशेषसम्म बाँकी रहेको छ । अहिले यस ठाउँमा जलद्रोणी छैन । 

चापागाउँ मूल सडकको पूर्वतिर बुलुगाउँ जाने मूलबाटो संगै बायाँतिर (चन्द्रभैरब मन्दिरको ठीक अगाडितिर) पनि जलद्रोणी रहेको अहिले पनि देख्न सकिन्छ । तर यो जलद्रोणी पहिलेदेखि यही ठाउँमा थियो वा पछि मात्र यस ठाउँमा राखेको भन्ने कुरा अभिलेख नहुँदा भन्न सक्ने अवस्था छैन । 

त्यस्तै सन् १८५० भन्दा पहिले बज्रबाराही मन्दिरको दायाँ उत्तरतर्फ कुना (हाल झरुवारासी जाने बाटो)मा पनि जलद्रोणी रहेको थियो । सन् १८५० देखि १८६३ को अवधि भित्र नेपाल बसाइको क्रममा हेनरी एम्ब्रोश ओल्डफिल्डले कोरेको चित्रबाट यस ठाउँमा जलद्रोणी रहेको प्रष्ट हुन्छ । यसको पछाडी कुवा रहेको छ । कुवा जङ्गलको खोचमा अहिले बेवारिसे अवस्थामा रहेको छ । अझ यो कुरा बज्रबाराही मन्दिरको उत्तरपट्टिको सत्तल छेउमा बेवारिसे अवस्थामा रहेको जरुँहिटीको ढुङ्गाबाट पनि पुष्टि हुन्छ । सम्भवत् वि.सं. २०१५ सालमा बज्रबाराही मन्दिर प्राङ्गण मर्मत गरेको समयमा यस ठाउँबाट जलद्रोणी हटाएको भनी स्थानीय व्यक्तिहरु बताउँछन् ।

बज्रबाराही, चापागाउँमा बेवारिसे रहेको जलद्रोणी ढुङ्गा

        जलद्रोणी मानिसहरु नियमित आवतजावत हुने बाटो, सडक किनारा, मन्दिरमा बनाएका हुन्छन् । अहिले पनि यस्ता जलद्रोणी सडक किनारामा देख्न सकिन्छ । लिच्छविकालमा स्थरुद्रंग नामबाट बसेको बस्ती र मल्लकालमा गढपर्खाल सहित वादेय् नामबाट नगरको रुपमा बसालेको हालको चापागाउँमा केही जलद्रोणी मात्र देख्न सकिन्छ । यि पनि अहिले कुनै पनि निकायले चासो नदिदा नासिदै जाने क्रममा छन । यस्ता जलद्रोणीमा पानी पिउने मौलिक संस्कृति अहिले हराइसकेको छ । जलद्रोणी अहिलेको आधुनिक युगमा कतै भग्नावशेष त कतै इतिहासको पानामा मात्र सीमित रहन पुगेको छ । नयाँ पुस्ताले यस किसिमको संस्कृति बिर्सिदै गइसकेका छन् । त्यसैले यसको संरक्षणको लागि सम्बन्धित ठाउँका सरोकारवाला निकाय तथा स्थानीयको आवश्यक पहल हुनु जरुरी छ । 


Comments

  1. हराएका अभिलेख खोज्नु जरुरी छ । पुराना सम्पदा जोगाएर भावी पुस्तालाई दिनु पर्छ । यसले मात्र ठाउको पहिचान बनिरहन्छ ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

पशु बलि परम्परा र प्रचलित कानूनी मान्यता

भ्रष्टाचार कम्पनी प्राइभेट लिमिटेड

धार्मिक महत्वको सरस्वती कुण्ड