चानचुन पैसा खोई ?


    
नेपाली अर्थ बजारमा जति एक हजार रुपैयाँको महत्व हुन्छ, त्यति नै एक पैसाको पनि महत्व हुन्छ । यही पैसाको लागि मानिसहरू मरिहत्ते गर्छन् । सजिलै पैसा कमाउनको लागि अपराधको बाटोसम्म पनि रोज्ने गर्छन् । मागेर खानेदेखि लुटेर, ढाँटेर खानेसम्मका लागि पैसा नै चाहिन्छ । मालसामान आयात, निर्यात गर्ने व्यापारीहरु, शेयरमा लगानी गर्ने लगानीकर्ताहरुदेखि घरजग्गाको कारोबारीहरु समेत पैसा पैसाको लागि चलखेल गर्छन् । अरबौं अरब रकम नभई त देश नै चल्दैन । यही रकम आर्जनको लागि मानिसहरू आफ्नो इज्जत, प्रतिष्ठाको समेत ख्याल गर्दैनन् । राष्ट्रसेवक कर्मचारी पनि देशलाई बिर्सेर भ्रष्टाचारको बाटोमा हिंड्न पुग्छन् । धन देखेपछि महादेवको पनि त्रिनेत्र खुल्छ भनेको त्यसै होइन रहेछ । धनको मोहमा नफस्ने कोही होला यो संसारमा ? त्यसैले विहान उठेदेखि नसुतुञ्जेलसम्म पैसा नै सबैको लागि भगवान भैसकेको छ । पैसाको अगाडि नाता, आफन्त त पछि मात्र आउँछ । 

    पैसाको महत्व लिच्छवि, मल्लकालदेखि थियो । पहिले सिक्का प्रचलनमा ल्याएका थिए । अहिले सरकारले कागजी नोट प्रचलनमा ल्याएका छन् । हुँदाहुँदा अहिले प्लाष्टिक मनीको जमाना आइसकेको छ । नेपाल राष्ट्र बैङ्कले आर्थिक व्यवस्था कायम गर्न समय समयमा विभिन्न नीति, निर्देशन जारी पैसा एक खाताबाट अर्को खातामा पठाउन मिल्ने बनाइसकेको छ । अव देशमा यतिको प्रगति भैसकेपछि चानचुन पैसा, कागजी नोट बोक्नु पर्ने झन्झट नै हटेको छ । 

    यहाँ प्रसङ्ग जोड्न खोजेको कुरा खुद्रा पैसाको हो, जसलाई मानिसहरू चानचुन पैसा भनेर बुझ्ने गर्छन् । अहिले नेपाली अर्थ बजारमा एक दुई रुपैयाँलाई चानचुन पैसामा गन्न थालेका छन् । यस्तो चानचुन पैसा बाटोमा फालिराखेको देख्यो भने कसै कसैले मात्र टिप्छ होला । भगवानको मन्दिरमा यस्ता चानचुन पैसा मनग्य चढाएको देख्न सकिन्छ । कसैले चानचुन पैसालाई पनि महत्वका साथ लिने गरेको हुन्छ भने कसै कसैले चानचुन पैसालाई त्यति वास्ता गरेको हँुदैन । चाहे पैसा चानचुन होस् वा करोडौं रुपैयाँ होस्, सबैको लागि उति नै महत्वपूर्ण हुन्छ । पैसा पैसामा अलग्गै शक्ति लुकेको हुन्छ । यहि चानचुन पैसाले पनि नेपाली अर्थ बजारमा धेरै महत्व राख्ने गरेको छ । कुनै पनि कम्पनी, संघ संस्था, उद्योग, व्यवसायीले आफ्नो वार्षिक आय व्ययको लेखा राख्दा चानचुन पैसाको समेत हिसाबकिताब राख्ने गरेको हुन्छ । 

स्थानीय तहमा मालपोत, सिफारिस लिंदा होस् वा खानेपानी, बिजुली, टेलिफोन, सवारी साधनको प्रयोग गर्दा होस्, एक दिन ढिलो नगरी पैसा पैसाको हिसाब गरी तिनु पर्छ । अड्डा, अदालतमा निवेदन, मुद्दा दर्ता गर्दा समेत सेवाग्राहीले एक एक पैसाको हिसाब गरेर तिर्नु पर्छ । यसरी राज्यलाई तिर्नु पर्ने कर, शुल्क, महशुल, दस्तूर आदि राजस्व तिर्दा पनि सेवाग्राहीले चानचुन पैसा छैन भन्न पाउँदैन । राज्यको तर्फबाट दिइने सेवा उपभोग गरे वापत सबैले एकएक पैसाको हिसाब गरी चुक्ता गर्नु पर्छ । सेवाग्राहीसंग असुल गर्नु पर्ने त्यस्तो चानचुन पैसा माफी मिनाहा गर्ने अधिकार पनि कर्मचारीलाई कानूनले दिएको छैन । राजस्व उठाउनु पर्ने कर्तव्य भएको राष्ट्रसेवक कर्मचारीले कुनै किसिमको लाभ स्वीकार गरी राजस्व असूल नगर्ने वा घटी राजस्व असूल गरेको खण्डमा राजस्व चुहावत मानी सजाय हुने व्यवस्था भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ र ७ मा गरेको छ ।  

    राज्यका सरकारी निकायका राष्ट्रसेवक कर्मचारीले लागेको रकम असूल गर्दा सेवाग्राहीलाई फिर्ता बुझाउनु पर्ने चानचुन पैसा छैन भन्दै फिर्ता नै गर्दैनन् । राज्यले सेवाग्राहीसंग राजस्वको नाममा चानचुन पैसा समेत नछोडी असूल उपर गर्ने, तर कर्मचारी भने चानचुन पैसा छैन भन्दै फिर्ता नगर्ने परिपाटीले सेवाग्राही मर्कामा पर्ने गरेका छन् ।  राजस्व तिरी बाँकी रहेको एक एक पैसा सेवाग्राहीले फिर्ता पाउने अधिकार छ । 

    चानचुन पैसाले महिनामा हजारौं र वर्षमा लाखौं रुपैयाँ हुन जान्छ । त्यस्तो रकम सिधै राजस्व असूल गर्ने कर्मचारीको खल्तीमा जाने गरेका छन् । राज्यको प्रत्येक निकायले असूल गर्ने गरेको राजस्व रकममा सेवाग्राहीलाई फिर्ता बुझाउनु पर्ने चानचुन पैसाको हिसाब गर्ने हो भने त्यो वर्षमा करोडौं पनि हुन सक्छ । यस्तो रकमको सम्बन्धमा राज्यका कुनै निकायले पनि अहिलेसम्म सोधखोज गर्ने गरेको छैन होला । 

    अहिले कतिसम्मको रकमलाई चानचुन पैसा मान्ने हो, सो सम्बन्धमा स्पष्ट नीतिगत व्यवस्था भएको पाईंदैन । सेवाग्राहीले राज्यलाई राजस्व तिर्दा चानचुन पैसामा बुझाउन नपर्ने स्पष्ट कानून नभएको र चानचुन पैसा मिनाहा गर्ने अधिकार कर्मचारीलाई कानूनले नदिएको हुँदा यस्तो समस्या देखा परेको हो । चानचुन पैसा भनी फिर्ता नगर्ने राष्ट्रसेवक कर्मचारीको कार्यले देशमा सूक्ष्म रुपमा आर्थिक अपराध फस्टाउने मौका पाइरहेको छ । नेपालमा यसलाई राष्ट्रसेवक कर्मचारीबाट हुने गरेको भ्रष्टाचारको कसूरको रुपमा लिन सकिन्छ । समाजमा आर्थिक अनुशासन कायम गर्ने उद्देश्यका साथ आएको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५ अनुसार आफू बहाल रहेको पद अनुसार सम्पादन गर्नु पर्ने कुनै काममा कुनै प्रकारले असर पर्न सक्ने गरी कुनै राष्ट्रसेवकले कसैबाट नेपाल सरकार वा सार्वजनिक संस्थाको पूर्व स्वीकृति नलिई आफूले कुनै किसिमको लाभ लिनु हुँदैन । राजस्व तिर्दा बाँकी रहेको चानचुन पैसा फिर्ता दिनु पर्नेमा नदिई आफै राख्नु गैरकानूनी लाभ स्वीकार गर्नु हो । त्यस्तो लाभ स्वीकार गर्ने कर्मचारीलाई बिगो समेत जफत गरी कसूरको मात्रा अनुसार ३ महिनादेखि ६ महिनासम्म कैद सजाय हुन्छ । भ्रष्टाचार गरी सम्पत्ति आर्जन गर्ने व्यक्तिलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को आधारमा पनि कारबाही हुन सक्छ । 

    अहिले देशको प्रायःजसो सरकारी निकायले कम्प्यूटर बिलिङ्ग प्रणाली मार्फत्  राजस्व उठाउने व्यवस्था गरिसकेको छ । बैङ्क तथा वित्तीय संस्थासंग समन्वय गरी अनलाईन बैंकिंङ, क्यूआर कोडबाट राजस्व तिर्न सक्ने भैसकेको छ । तापनि कर्मचारीहरू चानचुन पैसालाई सेवाग्राहीको खातामा जम्मा भएको पनि नदेखाउने र फिर्ता पनि नदिने गरी सूक्ष्म तरिकाले आर्थिक फाइडा लिइरहेका हुन्छन् । चानचुन पैसा फिर्ता नगर्ने कर्मचारीलाई पैसा फिर्ता लिंदा इज्जतका साथ सोध्ने गरौं– चानचुन पैसा खोई ? सरकार होस् या सर्वसाधारण, सबैले पैसा, पैसाको महत्व बुझेर हिसाब पारदर्शी राख्ने र रकम हिनामिना नगर्ने, अनावश्यक फाईडा नलिने हो भने यो समस्या हटेर जानेछ । पैसा पैसाको लागि लुट्ने, ठग्ने, ढाँट्ने, छल्नेलाई कानूनी दायरामा ल्याउन सकेको खण्डमा चानचुन पैसामा पनि भ्रष्टाचार हुने छैन ।



Comments

Popular posts from this blog

पशु बलि परम्परा र प्रचलित कानूनी मान्यता

भ्रष्टाचार कम्पनी प्राइभेट लिमिटेड

धार्मिक महत्वको सरस्वती कुण्ड